मुख्यसचिव विरुद्धको मुद्दाले निजामती सेवा भित्रको समस्या उजागर
मुख्यसचिवविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाले समग्र निजामति क्षेत्र नै लज्जित बनेको विषयले संसदमा प्रवेश पाएको छ । नेकपा (एमाले) का सांसद ठाकुर प्रसाद गैरेले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवमाथि नै भ्रष्टाचारको मुद्दा दायर हुनुले निजामती सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा स्पष्ट भएको उनले बताए ।
‘यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपर्छ, भोलि आउनुस् जस्ता स्वरहरूले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ’, उनले भने, ‘त्यसमाथि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्ने कुरा बताउँछ ।’
टिप्पणीहरू