‘नेशनल आईडी’को विवरण वडामै संकलन गर्न निर्देशन

‘नेशनल आईडी’को विवरण वडामै संकलन गर्न निर्देशन

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

स्थानीय तहसँगको समन्वयमा वडामै विवरण संकलनको व्यवस्था मिलाउन गृहले सम्बन्धित जिल्लाका सिडिओलाई निर्देशन दिएको हो । ज्येष्ठ नागरिक तथा अशक्तलाई राष्ट्रिय परिचयपत्र लिन असहज भएको गुनासो बढेपछि यस्तो निर्देशन दिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, स्थानीय तहहरुलाई त्यसका लागि आवश्यक सहजीकरण गरिदिन भनिएको छ । 

‘ज्येष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण संकलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गरिसकिएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी यस कार्यमा आवश्यक सहजीकरण गरिदिनुहुन सबै स्थानीय तहहरुलाई अनुरोध गरिन्छ’, गृहको सूचनामा उल्लेख छ । 

सरकारले आगामी साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ । सोपश्चात् जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । 

सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले पहिलो चरणमा २८ जिल्लामा ४३८ विवरण दर्ता अपरेटर खटाएको छ । त्यस्तै, उपयुक्त स्थानमा विवरण दर्ता गर्न स्टेशनहरु सञ्चालन गर्न सिडियो कार्यालयलाई निर्देशन दिइएको छ ।
 

टिप्पणीहरू