कैदकट्टाका लागि सिफारिस भएकाविरुद्ध उजुरी आह्वान

कैदकट्टाका लागि सिफारिस भएकाविरुद्ध उजुरी आह्वान

कारागार व्यवस्थापन विभागले कैद कट्टाको सिफारिसविरुद्ध उजुरी तथा गुनासो भएमा निवेदन दिन सूचना गरेको छ । कैद कट्टाका लागि सिफारिस भएका ६२० कैदीबन्दीमध्ये कोहीविरुद्ध उजुरी तथा गुनासो भएमा सात दिनभित्र निवेदन दिन विभागले भनेको हो । 

विभागले सूचना जारी गर्दै तथ्य प्रमाणसहित स्वयमं उपस्थित भएर वा इमेलमार्फत निवेदन दिन सूचित गराएको छ । भनिएको छ,‘उल्लिखित कैदीबन्दीको कैदकट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो भएमा सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र तथ्य प्रमाणसहित यस विभागमा उपस्थित भई वा विभागको इमेल ठेगानामा दर्ता गराउनुहुन सम्बन्धित सबैको लागि यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’

विभागका अनुसार फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५८६, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका तीन र सर्वोच्च अदालतको २०८० वैशाख ८ गते भएको (वारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने) फैसलासमेतका आधारमा २०७५ भदौ १ गतेभन्दा अगाडि वारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जनाको नाम कैदकट्टाका लागि सिफारिस गरिएको छ । 

गृह मन्त्रालयले गत जेठ १२ गते फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर कैदकट्टा नियमावली, २०७६ (तेस्रो संशोधन, २०८१), ज्येष्ठ नागरिक ऐन, २०६३ समेतको व्यवस्थाबमोजिम कैदकट्टा गर्न योग्य कैदीबन्दीको निवेदनसहितको विवरण माग गरेको थियो । सोहीअनुरुप कारागार प्रशासक, प्रमुख जिल्ला अधिकारीले कैदकट्टा गर्न योग्य कैदीबन्दीको नाम सिफारिस गरेका हुन् ।

टिप्पणीहरू