एकीकृत समाजवादीमा मतभेद नभएको दाबी

एकीकृत समाजवादीमा मतभेद नभएको दाबी

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन् । 

आसन्न राष्ट्रिय महाधिवेशनका लागि एउटै दस्तावेज तयार भएकाले वैचारिक मतभेद छैन भन्ने स्पष्ट भैसकेको उनको भनाई छ । अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वैचारिक मतभेद छ नि ? भन्ने प्रश्नमा पाण्डेले भने- ‘त्यो भन्नेकुरा मात्रै हो जस्तो लाग्छ । 

महाधिवेशनमा साझा दस्तावेज प्रस्तुत गर्न लागेकाले मतभेद छ भन्ने नमिल्ने उनले नेतृत्वको लागि पहल हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 'दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त वैचारिक मतभेद कहाँ छ भन्ने ?', पाण्डेले प्रतिप्रश्न गरे। 

फरक प्रसंगमा उनले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिए । यद्यपि राजदूत फेरबदल भैरहँदा राम्रो सन्देश नगएको र त्यसले वैदेशिक लगानीका लागि सरकारको आह्वानलाई खण्डित गर्ने पाण्डेको बुझाई छ । 

'पहिला त यो पटक-पटक राजदूतहरु फेरिरहने, पठाउने, त्यहाँ बुझ्न नपाउँदै फेर्ने कुराले नेपालको राजनीतिक स्थिति, नेपालमा राजनीतिक स्थिरता भयो, तपाईहरु लगानी गर्न आउनुस् भनेर जो हामी भन्ने गर्छौ । त्यो कुरालाई खण्डन गर्छ', उनले भने, 'तर, सरकारले राजदूत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वभाविक कुरा हो ।’

टिप्पणीहरू