गोकुललाई हराउन चन्द्र समूहको व्यापक आन्तरिक तयारी

गोकुललाई हराउन चन्द्र समूहको व्यापक आन्तरिक तयारी

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा गोकुल बाँस्कोटालाई टक्कर दिन अर्को समूह खडा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध कमजोर बनिरहेको बेला जिल्लामा बाँस्कोटालाई टक्कर दिन उपाध्यक्ष चन्द्र लामाको समूह खडा भएको बताइन्छ । यता, केही केन्द्रीय नेताहरुले लामा समूहलाई बलियो बनाउन मलजल गरेपछि विभिन्न सम्भावना देखिएको छ ।  

जिल्लाका नेताहरुले भने उक्त समूहलाई अप्रत्यक्ष साथ दिएको बुझिएको छ । जेठ १८ र १९ गते स्थानीय क्षेत्रबाट जिल्ला अधिवेशनका लागि पार्टी प्रतिनिधि छनौट कार्यक्रम थियो । ती कार्यक्रममा बाँस्कोटाको समूहले सबै क्षेत्रमा कब्जा जमाउने प्रयत्न गरेको आरोप लामा समूहको छ । तर उक्त प्रयासमा बाँसकोटा समूह विरोधका बाबजूद आंशिक सफल भएको हो ।  

बाँस्कोटाको प्रभावलाई कम गर्न र शक्ति क्षयीकरणका लागि सो कदम चाल्न आवश्यक देखिएको नेताहरुको भनाइ छ । बाँस्कोटा समूहबाट राजन भुर्तेल अध्यक्ष पदका बलिया दाबेदार हुन् । 

हाल सचिवको जिम्मेवारी सम्हालिरहेका उनी शालीन, भद्र र वैचारिक नेताका रुपमा चिनिने लामा समूहको भनाई छ । कम बोल्ने, कसैलाई नबिजाउने तर तत्काल घुलमिल नहुने भुर्तेलको पक्षमा सात सयमध्ये चार सयभन्दा बढी प्रतिनिधि देखिन्छन् । तर, बाँस्कोटासँग बदला लिने आन्तरिक राजनीतिको चपेटामा भुर्तेल पर्ने सम्भावना बढेको हो । बाँस्कोटाले उपाध्यक्षमा प्रदेशमा पराजय व्यहोरेकी रिता ढकाललाई उठाउने तयारी गरेका छन् । 

जिल्लामा उपसचिवसमेत रहेकी उनी माओवादीसँग पार्टी एकीकरण हुँदा एमाले भित्रिएकी थिइन् । बाँस्कोटाकै गाउँकी उनी त्यसपछि एमालेमै बसिन् । उनको तयारी तथा दिइएको बढी लिफ्टका कारण पनि पूराना एमालेजनहरु चिढिएको भनिन्छ । 

बाँस्कोटा समूहले भुर्तेललाई अध्यक्ष, वर्तमान उपसचिवद्वय ढकाल र राजकुमार सापकोटामध्ये एकलाई सचिव र उपाध्यक्ष, नभए सापकोटाका स्थानमा पनौतीबाट नगर अध्यक्ष सुरेश हुमागाईं, उपसचिवमा बनेपाकी उपप्रमुख विमला सापकोटा र रोशी गाउँ कमिटी अध्यक्ष देवसागर लामालाई प्राथमिकतामा राखिएको छ ।

यसो हुँदा एमालेमा वर्षौं योगदान गरेका महिला तथा अन्य नेताहरु पाखा लाग्ने निश्चित रहेको जनाउँदै लामा समूह अघि बढेको हो । श्रीमान प्रदेशमा, भाइ लेखा आयोगमा, श्रीमती पदाधिकारीमा, अझ जनप्रतिनिधि, अर्कोपटक प्रमुख नबनाए पार्टी छोड्ने धम्की दिँदै दुवैतर्फ पदको बार्गेनिङ्ग गरेर च्याँखे हान्ने गरेका हरिशरण दाहालले योपटक बाँस्कोटालाई अप्ठेरोमा पारेर श्रीमतीका लागि पदको बार्गेनिङ गरेको अर्को पक्षको बुझाइ छ । 

अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष, नगर अध्यक्ष तथा भएजति सबै पद उनीहरुकै परिवारका लागि चाहिने भन्दै बनेपाका एमाले नेताहरु आक्रोशित रहेको बताइन्छ । लामा समूहबाट हालसम्म पदाधिकारीमा कोही पनि खुलाइएको छैन् । यद्यपि, उनले समूह नै बनाएर प्रतिस्पर्धाको भित्री तयारी थालेका छन् ।

१३५ वडा र जनवर्गीय संगठनबाट छनौट भएका प्रतिनिधिहरुका आधारमा मनोनितसमेत गरी अधिवेशनमा ६९० प्रतिनिधि सहभागी छन् । हिजोदेखि शुरु भएको अधिवेशन भोलि समापन हुने बताइएपनि निर्वाचन प्रक्रिया लम्बिने निश्चित छ । 

एमालेका पुराना नेताहरुमध्ये केही नेकपा एकीकृत समाजवादी पार्टीमा छन् । समाजवादीको अधिवेशन भर्खरै सकिएको छ । पार्टी विभाजनपछि एमालेको यो दोस्रो अधिवेशन हो ।

टिप्पणीहरू