अभिनेत्रीले पाँच वर्षअघि यसकारण कपाल खौरेकी थिइन्

अभिनेत्रीले पाँच वर्षअघि यसकारण कपाल खौरेकी थिइन्
सुन्नुहोस्

अपवादबाहेक हरेक मानिसमा पैसा र प्रसिद्धिको लोभ हुन्छ । तर यी कुराले मात्रै मान्छे खुशी हुन्छ भन्ने पनि हुँदैन । वास्तवमा खुशी हुन सन्तुष्टि चाहिन्छ । र, सन्तुष्टि छैन भने जति पैसा र चर्चा कमाए पनि त्यसको अर्थ रहँदैन । 

म्यानमारकी अभिनेत्री सो पाइ थासिन यसको उदाहरण बनेको पाँच वर्ष भएको छ । त्यतिबेला ३१ र हाल ३६ वर्षीया थासिन सबै सम्पति त्यागेर बौद्ध भिक्षुणी बनेकी हुन् । आध्यात्मिक जीवन बाँच्नको लागि उनले आफ्नो व्यक्तित्व नै परिवर्तन गरेको बताएकी थिइन् । 

सन् २००९ मा रिलिज भएको ‘मो न्या आइँमेट म्यू’ बाट उनले म्यानमार चलचित्रमा डेब्यु गरिन् । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । करिब १५ वर्षको करिअरमा उनले २१ चलचित्र र दुई वेब सिरिजमा काम गरिन् । उनका सयौँ म्युजिक भिडियोहरु अहिले पनि युट्युबमा हेर्न सकिन्छ । 

खासगरी उनी युवापुस्तामा निकै लोकप्रिय थिइन् । सन् २०२० मा रिलिज भएको ‘गोल्डेन्स प्रिन्सेस’को लागि उनले ‘म्यानमार एकेडेमी अर्वाड’ समेत जितिन् । थासिनसँग केही कुराको कमी थिएन । महँगो घर, गाडी, निजी सुरक्षागार्ड, चर्चा सबै थियो । तर, यी सबैले पनि उनी खुशी बन्न सकिनन् । अन्ततः ती सबै सुख सयल त्यागेर भिक्षुणी बनेकी हुन् । 

भिक्षुणी बनेपछि म्यानमारकै स्थानीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सुन्दरता, सम्पति र नामले मानिस खुशी हुन्छ भन्नु भ्रम मात्र हो । यो सुन्नेलाई मजाक पनि लाग्न सक्छ, तर यो नै सत्य हो । आध्यात्मिक जीवन बाँचेपछि हरकोहीलाई यो महशुस हुन्छ ।’ 

थासिनले आफ्नो सबै सम्पत्ति ‘अग्गापे मेटा यूथ डेभलपमेन्ट अर्फान्ज’ लाई प्रदान गरिन् । उक्त संस्थाले असहाय, गरिब, टुहुरा र अपांग बालबालिकाहरुको निःशुल्क हेरचाह र अध्यापनको काम गर्दै आएको छ ।

टिप्पणीहरू