गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न - सत्तामा पुगेपछि किन कुरा फेरेको ?

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न - सत्तामा पुगेपछि किन कुरा फेरेको ?
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता र सत्ताबाहिर हुँदा गृहमन्त्रीले कुरा फेरेको बताए ।

लामिछानेले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिलाई सोधपुछसमेत गर्न नहुने हो भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई खुट्टा कमाएको आरोप लगाएका थिए । उक्त सन्दर्भ जोड्दै सांसद शाहीले भने, 'गृहमन्त्रीज्यूलाई भन्छु-अस्ति यहाँनिर (प्रतिपक्षी बेञ्च) बस्दाखेरी गरेको बोली आज त्यहाँनिर (सत्तापक्ष) बस्दाखेरीको बोली फरक हुनुभएन ।'

सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनका लागि बाटो खुल्ला गर्न पनि उनले गृहमन्त्रीलाई आग्रह गरे । छानविन समिति बनाउँदैमा दोषी प्रमाणित नहुने भन्दै शाहीले निर्दोष भए पुनः गृहमन्त्रीको रुपमा आउन सकिने बताए । 

'गृहमन्त्रीज्यू! छानविन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषी भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसदमा गृहमन्त्रीको रुपमाअगाडि आउनुहोला । तपाईलाई कसले रोक्न सक्छ ? छानविन समिति बनाउँदैमा दोषी र निर्दोष भन्ने कुरा हुँदैन', उनले भने ।

नयाँ दलहरु पुरानोको विकल्पको रुपमा आएका भन्दै शाहीले सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ बाँकी नरहेको बताए।

उनले भने, 'म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरुको विकल्पमा हालेको भोट हो । तर आज हामी नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त । के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यि पुराना दलहरुले गर्न सकेनन् । विकल्पको रुपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर अहिले संसद बाधक बनेको छ ।'
 

टिप्पणीहरू