मूडमा साम्राज्ञी र निश्चल, भित्री कुरो थाहा पाउन एक महिना कुर्नुपर्ने

मूडमा साम्राज्ञी र निश्चल, भित्री कुरो थाहा पाउन एक महिना कुर्नुपर्ने

नेपाली चलचित्रमा एउटा जमाना थियो, जतिबेला कलाकारले यौन र चुम्बनको दृश्य खिच्नुपर्दा जिब्रो टोक्थे । तर अहिले यस्ता दृश्य खिच्नेलाईसँगै हेर्नेलाई पनि सामान्य बन्दै गएका छन् । 

प्रविधिको विकासले अहिले यौन र चुम्बनको दृश्य खिच्न सजिलो बनेको छ । कतिपय दृश्यको लागि भिएफएक्स प्रयोग गरिन्छ भने कतिपय दृश्यमा कलाकार आफैँ तयार भएको पाइन्छ । 

यस्तै प्रेम, यौन र चुम्बनले भरिपूर्ण रोमान्टिक चलचित्र ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । यसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कविर खड्कालगायतको मुख्य भूमिका छ । 

सार्वजनिक टिजरलाई हेर्ने हो भने यो लभस्टोरी चलचित्र हो । यसमा यौन र चुम्बनका दृश्यहरु प्रशस्त समावेश गरिएको सहजै अनुमान गर्न सकिन्छ । साम्राज्ञी र निश्चलको बेडसिनले गरिमा र कविरको प्रेम फितलो बनाइदिएको छ । उनीहरुले साँच्चीकै चुम्बन गरे वा भिएफएक्स प्रयोग गरियो, त्यो निर्माण टिम नै जानुन् । तर टिजरले प्रशस्त रोमान्स बोकेको छ । 

त्यसो त, साम्राज्ञीले यसअघि थुप्रै लभस्टोरी चलचित्रमा काम गरिसकेकी छन् । चाहे अनमोल केसीसँगको ‘ड्रिम्स’ होस् वा आर्यन सिग्देलसँगको ‘कायरा’ । तर उनले यी चलचित्रमा बेड सिन र चुम्बनको दृश्य दिएकी थिइनन् । यद्यपि, कथाको डिमान्ड नभएर पनि हुनसक्छ । तर ‘लण्डन टु पेरिस’मा उनले मज्जाले रोमान्स सिन दिएकी हुन् । 

युवापुस्तामा राम्रो क्रेज बनाएकी साम्राज्ञीको ड्रेस सेन्स र सुन्दरताको निकै तारिफ गरिन्छ । उनले पनि यसलाई प्रमाणित गरेकी छन् । तर अभिनयको मामलामा भने समीक्षकहरुको आलोचना खेपिरहेकी साम्राज्ञीले यसमा कति निखार ल्याएकी छन्, त्यो चाँही जेठ २५ गते थाहा हुनेछ ।

टिप्पणीहरू