डेब्युमा नीतिको चलेन कमाल

डेब्युमा नीतिको चलेन कमाल

फिल्मको सफलतामा कलाकारको मेहनतले जत्तिको अर्थ राख्छ, उत्तिकै अर्थ राख्छ भाग्यले पनि । तर, चलचित्र 'खजुरे ब्रो'लाई न मेहनतले साथ दियो, न भाग्यले ।

गत बैशाख २८ गतेबाट प्रदर्शनमा आएको यो फिल्म एक हप्तामै हलबाट उत्रिएको छ । रिलिजको दिन हलमा सिंगल लागेको 'खाजुरे ब्रो' ले दर्शकको अपेक्षाकृत साथ पाउन सकेन । 

धरान आसपासमा शुटिङ भएको यो फिल्म रिलिजअघि राम्रै प्रचार-प्रसार गरिएको थियो । तर, मिडियामा भने अभिनेत्री नीति शाहको प्रेम सम्बन्धले बढी चर्चा पायो । 

यसअघि दुई/तीन वटा फिल्म साइन गरेर छोडेकी नीतिले यो फिल्मबाट भने धेरै अपेक्षा गरेकी थिइन् । किनकि डेब्यु फिल्म भएकाले चलचित्रको सफलतासँग उनको पनि सफलता गाँसिने पक्का थियो । तर, न फिल्म सफल भयो न नीति । 

निर्माता/निर्देशकले 'खजुरे ब्रो'मा उनलाई छोटो भूमिकामा देखाइदिए । कथाको मागअनुसार नै छोटो बनाइएको हो वा दृश्य सम्पादन गरिएको हो, त्यो त निर्माण टिमले जान्ने कुरा भयो । तर, फिल्ममा नीतिले कमाल गर्ने धेरैको अनुमान गलत सावित भएको छ । 

बरु यो भन्दाअघि रिलिज भएका 'बोक्सीको घर' र 'मनसरा' भने अझै हलमा टिकिरहेको छ । यी दुई फिल्मले बक्स अफिलमा पनि राम्रै कलेक्शन गरेको बताइन्छ ।
 

टिप्पणीहरू