निजी क्षेत्र सम्मिलित नयाँ चरणको आर्थिक सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको आर्थिक सुधार आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि पहल गरिरहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का त्रीदेशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग आज भएको भेटवार्तामा उनले उक्त धारणा राखेका हुन् ।

ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि सरकारको नेतृत्व र विकास साझेदारसँग सहकार्यको आवश्यकता रहेको बताए । नेपाल प्राकृतिक स्रोतसाधनमा धनीसँगै युवा र गतिशील जनशक्ति भएको मुलुक रहेको उल्लेख गर्दै उनले यसलाई सदुपयोग गरेर आर्थिक वृद्धि गर्न सकिने जनाए । 

त्यस्तै, व्यापारिक वातावरणमा सुधार, लगानीप्रति आकर्षण गर्ने नीति तथा उद्यमशीलता प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ । ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दीगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको औंल्याए । 

होल्टम्यानले आइएफसी सँधै निजी क्षेत्रको विकासको साझेदार र विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवद्र्धन गर्न साझेदार रहेको बताए । उनले नेपालको विकासमा आइएफसी निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

होल्टम्यानले नेपालमा दीगो आर्थिक विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग साझेदारी गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । गत वर्ष आइएफसी र महासंघले संयुक्त रुपमा पहिलोपटक नेपालको अर्थतन्त्र र रोजगारीमा निजी क्षेत्रको भूमिका विषयक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

टिप्पणीहरू