हिजो तँ जलेर मर् भनिन्थ्यो, आज किन बाँच्छेस् भनिन्छ

हिजो तँ जलेर मर् भनिन्थ्यो, आज किन बाँच्छेस् भनिन्छ
सुन्नुहोस्

गायिका देविका वन्दना, लेखक/पत्रकार अमृता लम्साल, मनीषा कोइरालाजस्ता केही आत्मविश्वासी महिला छन्, जो प्राणघातक क्यान्सर रोगलाई परास्त गर्न सफल भइसके । यस्तै आत्मविश्वासीमध्येकी हुन्– डा कोपिला पोखरेल । गोर्खामा जन्मिएकी उनले चार वटा विषयमा मास्टर गरेकी छन् । विद्यावारिधि सकाउनै लाग्दा स्तन क्यान्सर देखियो तर चार महिनामै क्यान्सरलाई परास्त गर्न सफल भइन् । सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरूको उद्धारका लागि ०६० सालमा ग्रामीण महिला तथा बाल स्वास्थ्य नामक संस्था स्थापना गरेर हालसम्म ३ सयभन्दा बढी बच्चाबच्चीलाई पढाइसकेकी छन् । उनकै सहयोगबाट पढेकामध्ये ३० जना सरकारी सेवाको अफिसर तहमा कार्यरत छन् । यस अलावा तीन हजारभन्दा बढी द्वन्द्वपीडितलाई स्वरोजगारमूलक तालिम दिइसकेकी छन् । उनी र उनकै संस्थाले गरेको कामको विषयलाई समेटेर निर्माण गरिएको वृत्तचित्रले सन् २०१३ मै ५० हजार डलर राशिको पिस अवार्ड जितेको छ भने अघिल्लो साता ग्लोबल अवार्डसहित अहिलेसम्म चार वटा अन्तर्राष्ट्रिय पदक हात पार्न सफल भएकी छन् ।

– हरि गजुरेल

 ० प्राणघातक क्यान्सर रोगलाई लुकाउनेहरू समाजमा धेरै देखिन्छन् तर अमृता लम्सालजस्ता आत्मविश्वासी नारी खुम्चिएर बसेनन् । जगदीश घिमिरेले अन्तर्मनको यात्रा छाडेर गए । तपार्ईंं पनि क्यान्सरपीडित, तेस्रो स्टेजमा पुगेर एक वर्षमै जित्नुभयो । क्यान्सरलाई कसरी परास्त गर्न सकिँदो रहेछ ? 

– क्यान्सरले समाइसकेपछि बाँच्ने सम्भावना छैन भन्ने गरिन्छ । क्यान्सरलाई जित्न सकिन्छ र यसनिम्ति आत्मबलसँगै परिवारको सपोर्ट जरुरी हुन्छ । क्यान्सरका बिरामीलाई ऊर्जा दिनुको सट्टा उल्टै निरुत्साहित गरिन्छ । यसमा सुधार जरुरी छ । 

० कसरी बढाउन सकिने रहेछ आत्मविश्वास ? 

– आत्मविश्वास आफैंभित्र आउने अठोट हो । खानपिनमा ध्यान दिने, आफूलाई मोटिभेट गर्ने, मेरो जीवन अझै लामो छ, बाँचेर केही गर्नुछ भनी प्रण लिने र यसको उपचार सम्भव छ भन्ने । खानेकुरा नरुचे पनि खाने गर्नुपर्छ । 

० भनिन्छ, मान्छेले मान्छेलाई चिन्ने समय भनेको दुःख र पीडाको घडीमा हो । जतिखेर तपाईंको अध्ययन (पिएचडी) सकिँदै थियो सोही समयमा क्यान्सरसँग जुध्दै हुनुहुन्थ्यो । क्यान्सरले समाएपछि व्यवहार कत्तिको फरक पाउनुभयो ? 

– धेरै जनाको मनमा चाहिँ अब यो मर्छे भन्ने नै थियो । कति त भेट्न आएनन्, फोन पनि गरेनन् । दुःखदायी क्षण थिए ती । उपचार महँगो थियो । कतिपय साथी कोपिलालाई क्यान्सर लाग्यो, अब मरिहाल्छे, यसलाई भेट्न जानुको के अर्थ भन्ने थिए । कतिपय जीवन र मृत्युको अन्तिम समयमा भएको व्यक्तिझैं ठानेर भेट्न आए । उनीहरूले सोचेका रहेछन्, हड्डी र छालामात्र बाँकी होला । तर, किमो चढाएको बेला म ७६ केजी थिएँ, अहिले पनि तौल तलमाथि छैन । हेमोग्लोबिन कत्ति पनि कम भएन । प्लेटलेट चढाउनु परेन । कतिपय सकरात्मक चिन्तन भएका साथीहरू ढाडस दिन्थे– तिमी साहसी महिला हौं, हिम्मत नहार । जो नकारात्मक कुरा गर्दथें, उनीहरू मेरो सकारात्मक कुरा सुनेर छक्क पर्दै फर्कन्थे । बिरामीजस्तो मान्दैन थिए । म राम्रैसँग छिट्टै नयाँ जीवन पाएर फर्कन्छु, तपार्ईंहरू मेरालागि नआत्तिनुहोस् भन्दथें । खानपिनमा धेरै राम्रो ध्यान दिएको कारण म छोटो समयमै क्यान्सरलाई जितेर फर्किएँ जस्तो लाग्छ ? 

० क्यान्सरले समाएपछि कस्ता खानपिन गर्नुपर्ने रहेछ ? 

– किमो लगाइसकेपछि हाम्रो इम्युनिटी पावरले ऊसँग लड्नुपर्ने हो । एक त कमजोर भएको समय, त्यहीमाथि खाना पनि नखाँदा सबै सेल निस्क्रिय हुन्छन् । क्यान्सरसँग लड्नका लागि हाइ प्रोटिन, हरियो सागसब्जी, नरिवल पानी, किबी, ड्रागन फ्रुट, मेवा दैनिक रूपमा खाँदा राम्रो । स्वाद होस् वा नहोस् । यी खानेकुरा खाएरै क्यान्सर जित्ने हो र जित्नै पर्छ भनेर मानसिक रूपमा तयार रहें । चार महिनासम्म दैनिक दुई वटा नरिवल, दुई वटा किबी, एउटा ड्रागन फ्रुट, आधा मेवा खाइरहें । स्वादका रूपमा नलिई शरिरका लागि चाहिने इनर्जीका रूपमा लिएँ । त्यसबाट क्यान्सरसँग लड्ने इम्युनिटी पावर तयार भयो । 

० चार महिनामै तपार्ईं रिकभर हुनुभयो । के रहेछ खास तत्व ? ।

– मलाई क्यान्सरले समाएपछि ७/८ जना साथीहरू भेटिए, उनीहरू पनि क्यान्सर पीडित नै रहेछन् । क्यान्सरको उपचार गर्न घटीमा १२ लाखदेखि ४ करोडसम्म खर्च भएको भेटेको छु । रोगको अवस्था, प्रयोग गर्ने किमोले पनि फरक पार्दाे रहेछ । मैले प्रयोग गरेको किमो १ भायलको २ लाख ७५ हजार आइसी पर्दथ्यो । मैले ७ वटा किमो लगाउँदा नेपाली ९ लाख जति खर्च भयो । अप्रेसन, १७ वटा थेरापी, रेडिएसन हरिसिद्धिमा गरिरहेको छु । क्यान्सर रोग लागेर सबैभन्दा पहिला बित्नेचाहिँ आर्थिक पीडाले थलिएकाहरू हुन् । जोसँग फलफूल खानका लागि एक हजार छैन, उनीहरूले एक लाख कहाँबाट ल्याउने ? बिरामीको सेवा गर्ने मान्छे छैन, बच्चाबच्चीको हेरचाह कसले गर्ने ? अर्काेतिर क्यान्सर पीडितलाई राज्यले १ लाख रूपैयाँ दिन्छ । यो रकम वास्तविक बिरामीले पाएका छैनन् ।

विपन्नको कार्ड भनेर हस्पिटलको नाममा भरिन्छ । त्यो १ लाख पनि फार्मेसी र रेडियसनका नाममा दिइने हो । यी त क्यान्सर निदानको अन्तिम चरण हुन् । त्यसअघि किमो लगाउनु र अप्रेसन गर्नुपर्छ । सरकारले दिने एक लाख त्यसमा खर्च गर्न पाइन्न । अर्काेतिर सिभिलजस्ता निजी अस्पतालमा एउटा मात्र रेडियसन मेसिन छ । रेडियसन रेगुलर गर्नुपर्छ भनिन्छ तर मेसिन बिग्रिएको नाममा समयमा हुँदैन । बिरामीको जिन्दगीमाथि खेल्ने काम प्राइभेट अस्पतालहरूले गरिरहेका छन् । सरकारी अस्पतालमा लापरबाही छ । हामीजस्ता क्यान्सर बिरामीको बाँच्ने अधिकार छैन । हिजो सतीप्रथामा श्रीमान बितेपछि बाध्य भएर जल्नुपर्दथ्यो ।

आज क्यान्सर भएका आमाहरूलाई ‘तँ क्यान्सर रोगी, मर्ने नै हो । तेरो उपचार किन गर्ने ? पैसा किन सक्ने ?’ भन्छ घर परिवार । अर्काेतिर राज्ये आमाहरूप्रति कुनै उत्तरदायित्व पूरा गर्दैन, औपचारिकता मात्र । पाठेघर र स्तन क्यान्सर भयावह छ । हरेक २० जनामा एक महिला क्यान्सर रोगी छन् । यी आमाहरूलाई बाँच्ने अधिकार न छोराछोरीले दिन्छन् न परिवारले दिन्छ । हिजोको सतिप्रथाजस्तै क्यान्सरका कारण आर्थिक पीडा र परिवारको घृणाले जिउँदै मरिरहनु परेको अवस्था छ । 

० स्तन क्यान्सर हुने कारण के रहेछ ?

– १० प्रतिशत मात्र वंशाणुगत, बाँकी खानपिन र तनावका कारण निम्तिने रहेछ स्तन क्यान्सर । सबैभन्दा धेरै तनावको जीवन र खानपिनका कारण क्यान्सर हुन्छ । बाहिरबाट आएका तेल, पोलेका र डढेका चिजहरूले क्यान्सर लाग्छ । अहिले व्लड, बोनम्यारो, फोक्सो लगायतका अनेकन क्यान्सर छ । सचेतना अत्यन्तै कमजोर छ । घर परिवार, समाजको क्यान्सरलाई हेर्ने दृष्टिकोणका कारण खुम्चिएर, रोग लुकाएर बस्नेहरू धेरै छन् ।

क्यान्सरले छुँदा म पनि अनभिज्ञ थिएँ । डाक्टरलाई एउटै कुरा सोधेको थिएँ– म मर्छु कि बाँच्छु, कति समय बाँच्छु, कति खर्च लाग्छ ? तपार्ईंको क्यान्सर थर्ड स्टेजको हो । ३ दशमलव ७७ नोट देखिएको छ । यसको सबैभन्दा ठूलो उपचार आत्मबल हो भन्नुभयो डाक्टरले । लाग्यो ९९ प्रतिशत उपचार मेरै हातमा छ । ४ महिनासम्म मलाई श्रीमानले एक पल पनि छाड्नु भएन । वर्षेनी ४० हजार क्यान्सर रोगी थपिइरहेका छन् । ३ करोड नेपाली जनसंख्या भएको मुलुकको भविष्य के होला ?

० स्रोत जुटाउनलाई कति सकस पर्‍यो ? 

– शुरुमा मेरो मन मात्र थियो । आफ्नै बच्चालाई पालन पोषण्का लागि दौडन पर्ने अवस्थामा अरुका बच्चाको जिम्मेवारी बोक्नु सहज पक्कै थिएन । आफ्नालागि त पशु पनि बाँच्दछ, म त मान्छे हुँ अरुका लागि बाँच्नुपर्छ भन्ने चिन्तन थियो । केही बैंक र साथीहरूसँग सहयोग मागें । ठूला हृदयका साथीहरूले सहयोग गर्नुभयो । ५० हजार डलरको पिस अवार्ड पाएको थिएँ । त्यो अवार्डले काठमाडौँमा घर घडेरी जोड्न सक्थें तर मन त्यता गएन । अहिले पनि डेरामा बस्छु । मैले आफू बस्ने एउटा घरभन्दा अरुलाई हँसिलो बनाउन सक्दा खुशी मिल्ने हुँदा समाजसेवा साँचो सन्तुष्टि हो, मैनबत्तीजस्तै आफू जलेर अरुलाई उज्यालो दिनुपर्छ भन्ने हिसाबले काम गरें । 

० तपार्ईंले अध्ययनमा सहयोग गरेकामध्ये ३० जना सरकारी सेवामा छन् । तिनले खोला तरेपछि लौरो बिर्सिए कि सम्झिएका छन् ?

– कसैले सम्झन्छन्, कसैले बिर्सिए । बिरामी हुँदा कसैसँग सहयोग मागेकी होइन । हामी अरुलाई सहयोग गर्ने मामलामा पछाडि नै छौं । म्याडमकै कारण आज हामी यो ठाउँमा छौं भन्ने पनि छन् । मैले त्यस्तो कुराको लेखाजोखा राखेको छैन । 

० जीवनको सूत्र के हो ? 

– मभित्र भएको दृढ इच्छाशक्ति र विश्वास । चाहने हो भने सबै कुरा गर्न सक्छौं । सक्दिन भनेर पछि हट्ने हो भने केही गर्न सकिँदैन । क्यान्सर रोग लागेपछि मेरो सिद्धियो, अब केही छैन भनेको भए आज यहाँ रहन्न थिएँ होला । धेरै पटक एक्लै सिरकले मुख छोपेर रोएको छु । समस्या थाहा नहोस् भनेर क्यान्सर थर्ड स्टेजमा हुँदा श्रीमान्लाई समेत जानकारी दिएको थिइन । जीवनको अर्थ हर दुःख संघर्षलाई जितेर जानु हो । संघर्षका थुप्रै चरण बाँकी छ, यसलाई जित्न सक्ने हिम्मत र साहस छ ।

० गोर्खा राजनीतिक हिसाबले चर्चित जिल्ला । बाबुराम भट्टराईदेखि प्रचण्ड त्यहीँबाट जितेर प्रधानमन्त्री हुनुहुन्छ । नेताहरूले सामाजिक संस्थालाई गर्ने व्यवहार कस्तो पाउनुभयो ? 

– हिजोका दिनमा उहाँहरूको सामाजिक संघसंस्थालाई हेर्ने दृष्ट्रिकोण गलत थियो । विकासका साझेदार संस्थाहरू आवश्यक छैन भन्ने ढंगबाट बुझ्नुहुन्थ्यो । कुनै डलर ल्याएर, विलासिताको जीवन जिउँला भन्ने कल्पना गरेर संस्था खोलेको थिइन । आफैं द्वन्द्वपीडित, त्यसक्रममा सन्तान गुमाएका, आमा वा बुवा गुमाएका हुन् वा सिन्दुर पुछिएहरूको जीवनमा खुशी भर्नका लागि केही गर्न सकिन्छ कि भन्ने प्रयासमात्र गरेकी हुँ । यही संस्थामा धेरै नेताले सिफारिस गर्नुभएका बालबालिका पढाउनेदेखि आफन्तलाई जागिर लगाइएको छ । तर, उहाँहरू पोजिसनमा पुगेपछि एक पटक पनि सम्झिनुभएन । 

० देशमा एउटै अवार्ड पाउनुभएको छैन तर विदेशबाट चार–चारवटा पाइसक्नुभयो । कस्तो लाग्छ यस्तो भिन्नता देख्दा ? 

– विकासको क्षेत्रमा काम गरेका कारण विभिन्न देशमा जान्थें । त्यहाँ आफूले गरेका काम प्रिजेन्ट गर्दथें । साँचो हृदयले गरेको सेवालाई विदेशले कदर गर्‍यो भन्ने लाग्छ । देशप्रति गुनासो छैन ।

० विज्ञका रूपमा प्रदेश र स्थानीय तहमा पुगेर काम गर्नुभयो । अहिले संघीयता खारेज गर्ने कुरा पेचिलोसँग उठ्दैछ । मुलुकमा संघीयताको कामै छैन र ? 

– संघीयता आफैंमा एकदमै राम्रो व्यवस्था हो । योभन्दा उपयुक्त अर्काे व्यवस्था नै छैन । मात्र नेतृत्वले व्यवस्थापन गर्न सकेन । कार्यसम्पादनमा कमी, सुशासनको प्रत्याभूति दिन नसकेका कारण नै संघीयताप्रति वितृष्णा पैदा भएको हो । नेताले आफ्नो गाउँ र ठाउँ बनाउनुपर्छ भन्नेभन्दा पनि आफ्ना पुस्तालाई पुग्ने गरी कमाउने गर्दा संघीयताप्रति वितृष्णा बढ्दै गयो । आयस्रोत, राजश्व बढाउनेभन्दा पनि अनुदानबाट आएको बजेट हिनामिना गर्ने प्रवृत्तिका कारण संघीयता कमजोर भएको हो । म जनताको सेवक हुँ, शासक होइन भन्ने बुझ्नुपर्‍यो । आफ्नो दायित्व सम्झनुपर्‍यो । संविधान र कानुन एक इञ्च पनि तलमाथि नहुने गरी नेताहरूले काम गर्नुभएको खण्डमा यो जत्तिको उन्नत व्यवस्था अरु कुनै छैन ।

टिप्पणीहरू