सुदूरपश्चिममा नयाँ मन्त्रीको सपथ, कर्णालीमा आधा दर्जन थपिँदै

सुदूरपश्चिममा नयाँ मन्त्रीको सपथ, कर्णालीमा आधा दर्जन थपिँदै

सुदूरपश्चिम पश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई मन्त्री नियुक्त गरेका हुन् । उनले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ लिएकी छन् । 

यसअघि वैशाख ६ गते नाउपाबाटै कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । मुख्यमन्त्री सोडारीले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरिरहेका छन् । विश्वासको मत पाएपछि एमाले पनि सरकारमा सहभागी हुने बताइएको छ ।

यता कर्णाली प्रदेशमा पनि आज मन्त्रिमण्डल विस्तार गरिँदै छ । मुख्यमन्त्री यामलाल कँडेलले आज एमालेबाट तीन जना र माओवादी केन्द्रबाट तीन जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । 

माओवादी संसदीय दलका नेता राजकुमार शर्माले अस्ति नै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मुख्यमन्त्रीलाई बुझाइसकेको बताए । जसअनुसार कालिकोटका दुर्गाबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही माओवादीबाट मन्त्री बन्दैछन् । यसअघि रणसिंह परियार विना विभागीय मन्त्री नियुक्त भएका थिए । 

एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम भने अझै खुलाइएको छैन । मुख्यमन्त्रीले नियुक्त गर्ने छ जना मन्त्रीले आजै सपथ लिने बताइएको छ ।

टिप्पणीहरू