उन्मुक्तिको बार्गेनिङ पावरमा धक्का,एमाले नेतृत्वमा थप दम्भ थपिने आशंका

उन्मुक्तिको बार्गेनिङ पावरमा धक्का,एमाले नेतृत्वमा थप दम्भ थपिने आशंका
सुन्नुहोस्

एउटा निर्वाचन क्षेत्रमा भएको हारजीतले के नै फरक पार्छ र जिन्दगीमा? भन्ने धेरैलाई लाग्न सक्छ । तर बझाङ प्रदेश सभा (क) क्षेत्रमा भएको उपनिर्वाचनको नतिजाले सुदूरपश्चिम प्रदेश सभामा वामपन्थीहरुको एकल बहुमत पुगेको छ । 

प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री र प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घट्नामा मृत्यु भएपछि सो क्षेत्रमा गत शनिबार उपनिर्वाचन भएको थियो । 

हिजो दिउँसो सार्वजनिक परिणामअनुसार एमालेका दमन भण्डारीको जीत प्रदेश सरकार निर्माणमा निर्णायक मात्र भएको छैन यसले प्रदेश सभामा वामपन्थीहरुको एकल बहुमत पनि पुगेको छ ।  ५३ सदस्यीय सभाबाट सरकार बनाउन २७ जना आवश्यक पर्छ । बझाङको जीतसँगै प्रदेश सभामा एमाले र माओवादी केन्द्र ११–११ सदस्यसहित समान हैसियतको दल बनेका छन् । 

प्रदेश सभामा एकीकृत समाजवादीका चार सदस्य छन् भने एक जना स्वतन्त्र वामपन्थी सदस्य डा.तारा जोशी छन् । एकल सरकार बनाउनैपर्ने अवस्था आउँदा अहिलेका सभामुख र उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । त्यसपछि ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्ने छन् । 
ज्येष्ठ सदस्यमा काँग्रेसका शिवराज भट्ट र मानबहादुर रावल छन् । अर्थात निर्णायक अवस्था आउँदा एमाले, माओवादी,समाजवादी कसैले पनि सभाको अध्यक्षता गर्नुपर्ने अवस्था छैन ।

सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र उपसभामुखमा एमालेका कोइलीदेवी चौधरी छन् । राजीनामा नगर्न राप्रपाको साथ लिन पाउने सुविधा पनि छ ।  प्रदेश सभामा राप्रपाका एक जना सदस्य छन् ।

बझाङमा एमालेको जीतसँगै नागरिक उन्मुक्ति पार्टीको निर्णायक भूमिकासमेत अन्त्य भएको छ । त्यहाँ उसका सात जना सभा सदस्य छन् । तीमध्ये नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीको पक्षमा दुई जना सदस्य छन् । 

सहज तवरले प्रदेश सरकार सञ्चालन गर्न भने उन्मुक्तिको आवश्यकता रहिरहन्छ ।  तर उन्मुक्तिको पहिलेको जस्तो बार्गेनिङ पावर भने हिजो दिउँसोबाट घटेको छ । 

अर्कोतर्फ नेपाली काँग्रेस १८ सिटसहित प्रदेश सभाको पहिलो दल कायमै छ ।  अब उन्मुक्ति सातै सदस्यसहित काँग्रेससँग मिलेमा राप्रपा र स्वतन्त्र वामपन्थीसहितको सरकार बन्ने सम्भावना पनि रहन्छ । तर स्वतन्त्र वामपन्थी डा. ताराप्रसाद जोशी वाम पक्षभन्दा बाहिर जाने हालसम्म कुनै सम्भावना छैन ।

वामपन्थी एकता कायम राख्न सबै दलको भूमिका उल्लेख्य हुन्छ । त्यसमा पनि एमालेको भूमिका सबैभन्दा बढी देखिन्छ । एमालेलाई निषेधको राजनीति दोहोर्याउन इलाम र बझाङको पछिल्लो नतिजाले झन दम्भी बनाउने खतरा पनि उत्तिकै छ भनिन्छ ।

टिप्पणीहरू