मधेशमा सरकार विस्तार, सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त

मधेशमा सरकार विस्तार, सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले क्याविनेट विस्तार गरेका छन् । 

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै हिजो चौथो पटक विश्वासको मत लिएका उनले आज तीन मन्त्री र एक राज्य मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह, युवराज भट्टराई र बेची लुङ्गेली छन् । शारदा थापाले राज्यमन्त्रीको शपथ लिएकी छन् ।  

भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने साह र लुङ्गेलीको विभाग टुंगो लागेको छैन । 

साह र भट्टराई नेकपा माओवादी केन्द्रबाट तथा लुङ्गेली एकीकृत समाजवादी र थापा एमालेबाट मन्त्री बनेका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले केही बेरअघि पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेकी छिन् ।

माओवादीबाट उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी सम्हाल्दै आएकी सुनिता यादवलाई फिर्ता बोलाइएको छ । भरत साहले अर्थ मन्त्रालयमा दाबी गर्दै आएपनि टुंगो नलागेका कारण वनाविभागिय मन्त्रीको रुपमा अहिले शपथ लिएको बताइएको छ ।

यता, सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । आज अपराह्न दाबी पेश गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले केहीबेर मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

टिप्पणीहरू