नयाँ समीकरणले मुलुकलाई सही बाटोमा लैजाने एमालेको दाबी

नयाँ समीकरणले मुलुकलाई सही बाटोमा लैजाने एमालेको दाबी

सत्तारुढ नेकपा एमालेले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारबाहीलाई सकारात्मक भनेका हुन् । 

बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न सरकारलाई सुझाव दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । बैठकमा उठेका धारणाबारे जानकारी गराउँदै उनले भने, ‘सरकारका प्रारम्भिक गतिविधिहरु, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस भन्ने अपेक्षा छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समीकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढ्ने जिकिर गर्दै आएको छ । नयाँ समीकरणलाई सकारात्मक उपलब्धिका रुपमा लिएको ज्ञवालीले बताएका छन् । 

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा संक्षेपमा चर्चा भएको उल्लेख गर्दै ज्ञवालीले अगाडि भने, ‘गएको फागुन २१ गते नयाँ सत्ता समिकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।’

एमाले सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा वैशाख २० गते प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्य गतिविधि समावेश गरेर बनाएको डकुमेन्ट्री प्रस्तुत हुने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

टिप्पणीहरू