रेशम-रञ्‍जिता कलहले प्रदेश प्रमुखलाई सकस

रेशम-रञ्‍जिता कलहले प्रदेश प्रमुखलाई सकस
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एउटै पार्टीको दोहोरो दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ अप्ठेरोमा परेका छन् । 

केन्द्रमा नयाँ सत्ता समीकरण बनेसंगै आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश भएपछि मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सकसमा परेका हुन् । 

नाउपा अध्यक्ष रञ्‍जिता श्रेष्ठ चौधरी एमाले-माओवादी गठबन्धनको पक्षमा छिन् । उनका श्रीमान्समेत रहेका पार्टीका संरक्षक रेशम चौधरी कांग्रेससहितको विपक्षी गठबन्धनमा रहनुपर्ने अडानमा छन् । जसका कारण रेशम खेमाका लक्ष्मणकिशोर र रञ्‍जिता पक्षका कैलाशले छुट्टा-छुट्टै गठबन्धनबाट मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गरेका हुन् । 

लक्ष्मणकिशोरको समर्थनमा  नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नाउपा (रेशम चौधरी पक्ष) संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले हस्ताक्षर गरेका छन् । 

कैलाशले नाउपाका ६ सहित एमाले १०, माओवादी केन्द्र १० र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थनसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । 

दोहोरो दाबी परेपछि प्रदेश प्रमुख मियाँले थप अध्ययन गरेर मात्रै मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्र सभामुखसहित ११, एमाले उपसभामुखसहित १०, नाउपा सात र एकीकृत समाजवादीका चार सांसद छन् । राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।

सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्ने प्रदेश सभाको अंकगणितमा नाउपा निर्णायक छ ।

टिप्पणीहरू