चितवनमा एक जनामाथि गैंडाको आक्रमण, दुई जनामाथि हतियार प्रहार

चितवनमा एक जनामाथि गैंडाको आक्रमण, दुई जनामाथि हतियार प्रहार

चितवनमा गैंडा आक्रमणमा परेर आज एक जनाको ज्यान गएको छ । अरु दुई जना धारिलो हतियार प्रहारबाट घाइते भएको बताइएको छ ।
 
रत्ननगर नगरपालिका ८ स्थित बगर्जुन जङ्गलमा स्थानीय टुरिष्ट गाइड सुवास रेग्मीको गैंडा आक्रमणमा ज्यान गएको हो । गोरखाको आरुघाट गाउँपालिका ८ पोखरी घर भई हाल रत्ननगरको सौराहामा बस्दै आएका उनी जंगल बर्ड रिसोर्ट सौराहामा गाईडको काम गर्थे । 

३३ वर्षे रेग्मी गैंडाको आक्रमणमा गम्भीर घाइते भएको खबरपछि प्रहरी चौकी बछ्यौलीबाट खटिएको टोलीले उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पुर्याएको थियो । तर, उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

बिहान ३ बजेको समयमा नारायणी नदी किनारमा भरतपुर ११ बसेनीका २४ वर्षे किरण ढकालमाथि चार जनाले धारिलो हतियार प्रहार गरेको बताइन्छ । उनको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तै गएराति दिपेन्द्र चोकमा रहेको लेमन लाइमन होटल अगाडि भरतपुर ११ नौरंगे बस्ने ३५ वर्षे युगकुमार गुरुङमाथि पनि हतियार प्रहार भएको छ । भरतपुर, न्युरोड बस्ने राजु तामाङ र भरतपुर ११ बसेनीका समिर गुरुङले धारिलो हतियार गरेर घाइते बनाएपछि नयाँ मेडिकल कलेज चितवनमा उपचार भएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू