उताको महानगर अगाडि तमासा

उताको महानगर अगाडि तमासा
सुन्नुहोस्

नेपालमा कुनै पनि काम गर्न लाग्दा किन विरोधमात्रै हुन्छ ? विश्वमै शाकाहारीभन्दा पशुभक्षी तथा मांसाहारी मानिस धेरै छन् । चितवनमा नरभक्षी बाघलाई नियन्त्रणमा लिएर नमारी खोरमा उद्धार गरी राखिएको छ । अहिले भरतपुर भ्रमण वर्षको अवसरमा बाघलाई प्रत्यक्ष देख्न चाहनेका लागि हेर्न सकिने व्यवस्थासमेत मिलाइएको छ । 

कोरोना कहरपछि थलिएको पर्यटन क्षेत्रलाई उकास्न र आर्थिक गतिविधि बढाउन निजी क्षेत्रसँगको सहकार्यमा भरतपुर महानगरपालिकाले चालु इस्वी सम्बत् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदैछ । देवनगरस्थित चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्रमा मिनी–जु जस्तै बनाएर उक्त बाघलाई हेर्न सकिने व्यवस्था मिलाइएको छ । भरतपुर भ्रमणमा आउने देशी–विदेशी पाहुनालाई यो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्ने देखिएको छ । अहिले भरतपुर भ्रमण वर्षले पर्यटन क्षेत्र र यहाँका व्यापारी–व्यवसायी उत्साहित छन् । भरतपुरमा भएको विकास देखीनसहने केही मान्छेहरुलाई यही बेला बाघको पिरलो परेको छ १  

भ्रमण वर्ष सुरु भएपछि भरतपुरमा पर्यटकीय तथा आर्थिक गतिविधि बढ्न थालेको छ । आर्थिक मन्दीले मानिस भोक–भोकै मर्नुपर्ने हो कि भन्ने चिन्ता कहाँ हो कहाँ ! मान्छे मार्ने नरभक्षी बाघको लागि यत्रो रोइलो ? यतिबेला बाघको मायाले भुतुक्कै भएर होइन, भ्रमण वर्षको बेला महानगरको विरोधकै लागि विरोध भइरहेको भन्नेहरु पनि छन् । 

पशु–अधिकारकर्मीहरुले घर–घरमा सिक्री तथा साङ्लाले बाँधेर पालिने कुकुर, पिँजडामा थुनेर राखिने सुगा–मैनालगायत अरु पशुपंक्षीबारे खासै बोलेको सुनिँदैन । कुखुरा–बाख्रालाई खोरमा थुन्नु, गाईभैंसीलाई नाके–रसी लाएर गोठमा बाँधेर पाल्नु, मार्नु, काट्नु, खानु पनि त पशुअधिकार हनन्को ठूलै विषय भन्नेहरुको संख्या निकै छ । यसबारे खासै विरोध सुनिएको छैन । आफ्नो फाइदाको लागि कसैको विरोध गर्नुछ भने भोलि कमिला कुल्चेर मरेको विषयमा पनि अधिकारको नाममा रोइलो मच्चाउने जत्था पनि यहाँ देखिन्छ । कति त घरमा आफूले भर्खर मासुभात ज्यूनार गरेर फेसबुक, मिडिया वा सामाजिक सञ्जालमा ‘बाघलाई किन थुनेर देखाएको ?’ भनी महानगरलाई हकार्ने पनि पाइएको छ ।

आज दिउँसो भरतपुर महानगरपालिकामा पुग्दा झण्डै एक दर्जन युवक–युवतीहरुले सोही बाघको विषयमा तमासा देखाइरहेका थिए । ‘उद्धार गरिएको जनावरलाई शान्तिपूर्ण बस्न दिउँ’ लेखिएको एउटा सेतो ब्यानर हस्ताक्षरका लागि र केही प्लेकार्ड बोकेर महानगरपालिकाको गेट अगाडि उनीहरु प्रदर्शनमा उत्रिएका थिए । को र कहाँबाट परिचालित हुन् ? कुनै संस्थाबाट पनि नभई आफूहरु स्वतस्फूर्त रुपमा आएको उनीहरुले बताए । 

कोही टाँडी, कोही कमलनगर, कोही मालपोतचोकबाट आएको बताउँदै थिए । ‘तपाईंहरु एउटा वन्यजन्तुको अधिकारको कुरा गर्दै हुनुहुन्छ, नढाँटी भन्नुस्, तपाईंहरु को–को भेजिटेरियन हो ? को–को ननभेज ?’ भन्दा उनीहरुले ‘म पनि भेगन, म पनि भेजिटेरियन, म पनि भेजी, भन्दै सबैजना शाकाहारी भएको जानकारी दिए ।

जेहोस्, भरतपुर महानगरपालिकाले बाघ ल्याएर देखाउन खोजेको भन्दा पनि राष्ट्रिय निकुञ्जमा मान्छे खाएका नरभक्षी बाघलाई उद्धार गरेर राख्ने ठाउँ बनाएको दाबी गर्दै आएको छ । बाघलाई प्रत्यक्ष देख्न पाउँदा मान्छे खुशी पनि हुन्छन्, कुनै हानि नोक्सानी नहुने गरी टाढै मचान बनाएर हेर्ने व्यवस्था गरिएको छ । यसले बाघलाई कुनै असर नपर्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना बताउँछन् । ‘अहिले तत्काल फ्रि भएर भीड देखिएको हो’, महानगरपालिकाका पर्यटनविद् विश्व सुवेदीले भने, ‘यसलाई अब टिकट सिस्टम बनाएर व्यवस्थापन गर्छाैं ।’

नरभक्षी बाघलाई यत्तिकै जङ्गलमा छोड्न नमिलेर राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखिएको महानगरको भनाइ छ । मान्छे खान थालेपछि एउटालाई बाँके र अर्काेलाई चितवनबाटै केही वर्षअघि नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जले जनायो । जम्माजम्मी एक हजार मान्छे राख्ने क्षमताको झ्यालखानामा चार–पाँचहजार कैदीबन्दी कोचेर राख्ने गरिएको नेपालमा ती बाघलाई राम्रै खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताएका छन् ।

‘खत्तमै भो, वन्यजन्तुलाई एकदमै अन्याय भो, नकारात्मक असर भयो’ भन्ने अवस्था नरहेको समेत वरिष्ठ संरक्षण अधिकृत पुनको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमै उद्धार केन्द्र वा चिडियाखाना बनाएर पर्यापर्यटनसँग जोड्न सकिने व्यवस्था रहेको बताइन्छ । यो टुरिज्मको एउटा सानो प्रोडक्टको रुपमा स्थापित हुन पनि सक्ने प्रमुख संरक्षणको विश्वास छ। 

टिप्पणीहरू