अमेरिका, प्रचण्ड र रविबारे यस्तो सुनाउनुभयो ओलीले

अमेरिका, प्रचण्ड र रविबारे यस्तो सुनाउनुभयो ओलीले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कटाक्ष गर्नेहरू भन्छन् – मन्त्री खान मन लागे बालकोट दौडिहाल्ने ! रास्वपालाई दुबैचोटी गठबन्धन सरकारमा सहभागी गराउन र उनलाई गृहमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली प्रखर रूपमा प्रकट भएकाले सायद त्यस्तो कटाक्ष हुने गरेको होला । तर, आन्तरिक छलफलमा भने रविका कार्यशैलीप्रति ओलीको चर्को असन्तुष्टि पोखिने गरेको छ ।

गृहमन्त्रीका रूपमा रविका कतिपय क्रियाकलापले सत्ता साझेदार दलहरूबीच अविश्वास बढाएको चर्चा भैरहँदा पार्टीको पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले भन्नुभयो– यो फन्डाबाज हो, धेरै कुरा बिगार्न सक्छ । गृहमन्त्रीले तिब्बती शरणार्थी पुनः दर्ता प्रक्रिया खुला गर्न लागेको बैठकलाई ब्रिफिङ गर्दै उहाँले अगाडि भन्नुभयो, ‘यो बेबकुफी काम हो !’ नेपालमा रहेका तिब्बती शरणार्थीबारे उत्तरी छिमेकी चीनले गम्भीर चासो राख्दै आएको छ । सोही कारण लामो समयदेखि नेपाल सरकारले पुनर्दर्ता प्रक्रिया खोलेको छैन । तर, रवि गृहको कुर्सीमा पुग्नेबित्तिक्कै मुलुकको भूराजनीतिक संवेदनशीलताको सामान्य ख्याल नगरिएको यो विषयले प्रमुख सत्तारुढ दलको बैठकमा चर्चा पाएको हो । 

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाले भ्रमणमा बोलाएको पनि खुलासा गर्नुभएको छ । संक्षिप्त ब्रिफिङ गर्दै उहाँले ‘प्रचण्डलाई अमेरिकाले बोलाएको छ’, भने पनि भ्रमणको मिति र प्रयोजनबारे थप ब्याख्या भने नगरेको बैठक स्रोतले बतायो । एकातिर गृहमन्त्री तिब्बती शरणार्थीको पुनर्दर्ता खुलाउन लाग्ने, अर्कोतिर प्रधानमन्त्रीलाई अमेरिकाले स्वागत गर्ने अध्यक्षको ब्रिफिङ सुनेका एमालेका एक नेताले आश्चर्य व्यक्त गरे । ‘उहाँले थप व्याख्या त गर्नुभएन तर, विषय गम्भीर छ भन्ने बुझिन्छ’, उनले भने ।

सामान्य अवस्थामा नेपालका प्रधानमन्त्रीलाई अमेरिकाले औपचारिक भ्रमण गराएको देखिंदैन । सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक भ्रमण गरेयता प्रधानमन्त्री तहबाट त्यस्तै यात्रा भएको छैन । त्यसअघि सन् १९८३ मा राजा वीरेन्द्रले औपचारिक भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका बेला अमेरिकी राष्ट्रपतिसँग हात मिलाएर फोटो खिचाउनेबाहेक २२ वर्षअघि देउवाले गरेको अमेरिका भ्रमण नै नेपालका तर्फबाट भएको उच्चतहको औपचारिक भ्रमण हो ।

तर, अहिले दक्षिण र पश्चिमको रुचि प्रतिकूल भनिएको नयाँ सत्ता समीकरणलगत्तै प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आएको कुराले एमाले नेताहरू आश्चर्यमा परेका हुन् । ‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाले स्वागत गर्ने भनेपछि कि विशेष सन्दर्भ हुनुपर्‍यो  । कि त यो सरकार बनाउनमै उनीहरूको भूमिका थियो भनेर बुझ्नुपर्ने हुन्छ । चाइनिजले बनाएको भन्छन्, अमेरिकाले बनाएको भन्ने पो शंका हुन थाल्यो त !’, एमालेका एक जना उपमहासचिवले भने । 

यता, अहिलेको सत्ता समीकरण भत्काउन भारत लागिरहेको पनि अध्यक्ष ओलीले बैठकलाई जानकारी गराउनुभयो । अघिल्लो बैठकमै गठबन्धन टुटाउन भारतले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरिरहेको रिपोर्टिङ गर्नुभएका उहाँले यसपटक पनि त्यही कुरा दोहोर्‍याउनुभएको थियो । । ‘यो सरकार ढाल्न मलाई प्रधानमन्त्री अफर गरेको गर्‍यो छन् । पहिला सम्पर्कसमेत नगर्नेहरू अहिले ‘आपको प्रधानमन्त्री होना चाहिए’ भन्दै दिनहुँ भेटेर भनेको भन्यै छन्’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले सुनायो ।

बैठकमा उपचुनाव र पार्टीको आन्तरिक राजनीतिको विषयमा पनि सामान्य चर्चा भएको थियो । ओलीले इलाम–२ मा झलनाथ खनालले गठबन्धनको साझा उम्मेदवार हुन चाहे पनि त्यसअनुसार निर्णय गर्न नसकिने शुरुमै रिपोर्ट गर्नुभयो । त्यसपछि इलामको अवस्थाबारे ब्रिफिङ गर्नुभएका उहाँले पार्टीको सिंगो जिल्ला कमिटी सुहाङ नेम्वाङविरुद्ध रहेको सुनाउनुभयो । बैठक स्रोतले सुनाएअनुसार सुवासको नातेदारसमेत रहेका जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेत, तत्कालीन पिए बुद्धि खनालसहित जिल्ला कमिटीका बहुमत सदस्य सुहाङको विपक्षमा रहेको ओलीले रिपोर्टिङ गर्नुभएको थियो ।

यद्यपि, दिवंगत सुवास नेम्वाङका छोरा सुहाङलाई टिकट दिने अध्यक्षको फैसलालाई बैठकले अनुमोदन गरेको छ । यता, बझाङमा भने जितिने सम्भावना बढेर गएको रिपोर्ट गरियो । विभिन्न काण्डमा मुछिएका नेताहरूको निलम्बन तथा कारबाहीको विषय यसपटक पनि सामान्य छलफलमै सीमित भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले यौनकाण्डमा परेका पोलिटब्युरो सदस्य महेश बस्नेतको कुरा उठाउनुभएको थियो । ‘महेशको कुरा के छ नि !’ भनेर मसिनो स्वरमा गरिएको अष्टको प्रश्न अर्कोतिर कानेखुशी गरिरहेका अध्यक्ष ओलीले सुन्नुभएन । बरु, ‘जसले उजुरी हालेको हो उसैले त्यस्तो होइन भनेपछि अब कारबाही फिर्ता भयो’ भनेर केन्द्रीय सदस्य ऐन महरमाथिको कारबाही फिर्ता गर्ने निर्णय सुनाइयो ।

अर्काको घरबार बिगारेको आरोप लागेका बस्नेत र महरमाथि नरम बन्नुभएका अध्यक्ष ओली पार्टीको नाममा रकम उठाएर खाएको आरोप लागेका अर्का केन्द्रीय सदस्य सिराज अहमद फारुकीको कारबाही फिर्ताबारे भने बोल्नुभएन । जबकि उनले पैसा फिर्ता गरिसकेका थिए । ‘पहिला निलम्बन गर्दा केन्द्रीय कमिटीमा प्रस्ताव लगिएको होइन, सर्कुलर पनि जारी भएन । माथिबाटै कारबाही गरेको भनिएको थियो, अहिले फुकुवा पनि माथिबाटै भयो’, कारबाही र फुकुवा दुवै प्रक्रियाप्रति असन्तुष्ट एक नेताले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू