अमेरिका पठाउने ठगी धन्दामा मातृका यादवका नाति पनि

अमेरिका पठाउने ठगी धन्दामा मातृका यादवका नाति पनि

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादवका नाति सन्तुलन यादवले अमेरिका पठाउने नाममा ठगी धन्दा सञ्चालन गरेको आरोप छ । सन्तुलनले अमेरिकाको भिसा लगाइदिने नाममा ३२ लाख ५० हजार रूपैयाँ ठगेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको छ ।

पीडित युवती दिप्ती भट्टराईले नेता यादवका नाति सन्तुलनले अमेरिकाको भिसा लगाइदिने नाममा आफू र आफ्नो परिवारसँग पटकपटक गरेर ३२ लाख ५० हजार रुपैयाँ ठगेको प्रमाण काठमाडौं जिल्ला प्रहरी परिसर टेकूमा दर्ता गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

कीर्तिपुर नगरपालिका १, अमृतनगरकी दिप्तीले प्रहरीमा दिएको जाहेरीका आधारमा सिरहा, मिर्चैयाका गोविन्द साह पक्राउ परेका छन् । प्रहरीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको छ भने सन्तुलन फरार छन् । सन्तुलन मातृकाकी छोरी सरिताका छोरा हुन् । सरिताले मिर्चैया निवासी दिलिपकुमार साहसँग जनवादी विवाह गरेकी हुन् ।

सन्तुलन र दिप्ती ललितपुरको चाकुपाटस्थित ब्रिटिश मोडेल कलेजमा सँगै पढेका ब्याची हुन् । उनी आफूलाई माओवादी नेता मातृका यादवको नातिको रुपमा परिचय दिन रुचाउँथे । एउटै कलेजमा अध्ययन गरेका उनीहरूबीच प्रत्यक्ष कुराकानी र औपचारिक चिनजान भने नभएको बताइन्छ । कलेजमा देखादेख मात्र भएका उनीहरुबीच सामाजिक सञ्जाल फेसबुकमा चाँही कुराकानी भएको दिप्तीले जाहेरीमा उल्लेख गरेकी छन् ।

सोही क्रममा सन्तुलनले आफू अध्ययन भिसामा अमेरिका जान लागेको र जान चाहेमा दिप्तीलाई पनि हजुरबुवा मार्फत् पहल गरिदिने बताएको उल्लेख छ ।  अमेरिकी दूतावासमा हजुरबुबाले जागिर लगाइदिएका व्यक्तिले भिसा लगाउन पहल गरिदिने तर भिसा प्रोसेसका लागि पैसा लाग्ने बताएपछि दिप्तीले आँटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

स्टुडेन्ट भिसामा गएपछि ग्रिन कार्ड, त्यसपछि परिवारलाई अमेरिका लैजान पाइने प्रलोभनमा दिप्ती परेको देखिन्छ । भिसा नलागेमा भएको खर्च सबै फिर्ता हुने त्यतिबेला सन्तुलनको प्रतिबद्धता थियो ।

दिप्तीले अमेरिका जाने विषयमा घरसल्लाह गरिन् । मातृका यादवले नै भिसाका लागि पहल गरिदिने विश्वासमा दिप्तीका बुवा भानुभक्त भट्टराई छोरीलाई अमेरिका पठाउन राजी भएका थिए । भिसाका लागि सन्तुलनले भनेबमोजिम पटकपटक गरेर बैंक खाता, आईएमई र इसेवाबाट ३२ लाख ५० हजार रूपैयाँ उनीहरुले दिएको देखिएको छ ।

यसरी खुल्यो ठगीको भेद

अमेरिका जान भिसाको सबै प्रक्रिया सकिएकाले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि जानुपर्ने बताइयो । उक्त प्रयोजनका लागि सन्तुलनले दिप्तीलाई लिएर गत पुसमा दिल्ली हान्निए ।

आफूलाई प्रत्येक दिन नयाँ होटलमा राखिएको दिप्तीको भनाई छ । १६ औं दिनसम्म पनि अन्तर्वार्ताका लागि दूतावास नलगेपछि उनलाई शंका लागेको हो । दिप्तीका अनुसार त्यसपछि सन्तुलनले प्रोसेस सबै सकिएकाले दूतावास नजानुपर्ने भन्दै घर जान आग्रह गरे । काठमाडौं गएर अमेरिकाको तयारी थाल्न र १० दिनपछि अमेरिका उड्न किनमेलको लागि बताएका थिए । शंका उपशंकाबीच दिप्ती नेपाल फर्किइन तर सन्तुलन त्यसपछि सम्पर्कविहीन भए ।

१५ दिनअघि सामाजिक सञ्जालमा सम्पर्कमा आएका सन्तुलनले दिप्तीले भिसा अप्लाइको क्रममा दिएको शैक्षिक प्रमाणपत्रलगायतका कागज फिर्ता मागिन् ।  उल्टै उनले कागजपत्र फिर्ता चाहिए पुनः पैसा दिनुपर्ने शर्त राखेको दिप्तीको भनाई छ । ‘मेरा सबै ओरिजिनल डकुमेण्ट सन्तुलनलाई दिएको थिएँ, फिर्ता गर्न उल्टै पैसा मागिराछ ।’

बैंक खातावाल समातिए

आफू ठगिएको थाहा पाएपछि दिप्तीले प्रहरीमा जाहेरी दिएकी हुन् । उनको जाहेरीमा सन्तुलनले उपलब्ध गराएको मिर्चैयाका गोविन्द साहको सानिमा बैंकको खाता नम्बर १३३०११०००००४८५ मा आठ लाख रूपैयाँ दिप्तीका बुवा भानुभक्त भट्टराईले जम्मा गरिदिएको उल्लेख छ । सोही आधारमा प्रहरीले गोविन्दलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा ठगि मुद्दा चलाएको हो ।

गोविन्दले सरकारी वकिलसँगको बयानमा सन्तुलनले भनेअनुसार खाता नम्बर उपलब्ध गराएको दाबी गरेका छन् । खातामा जम्मा भएको आठ लाख रूपैयाँ निकालेर सन्तुलनलाई दिएको जनाउँदै उनले भने, ‘के कामका लागि उक्त कारोबार भएको मलाई थाहा भएन ।’

टिप्पणीहरू