सहकारी संस्थामा चोरी, सञ्चालक समितिका सदस्यहरुमाथि आशंका

सहकारी संस्थामा चोरी, सञ्चालक समितिका सदस्यहरुमाथि आशंका
सुन्नुहोस्

मोरङमा एउटा सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयमा एकैदिन चोरी भएको छ । लेटाङ नगरपालिका–२ मा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रबाट १३ लाख रुपैयाँ चोरी भएको बताइएको छ ।

फागुन १५ गते भएको घटना एक महिनाभन्दा बढी समयपछि सार्वजनिक भएको छ । सहकारी सञ्चालक समितिले घटनाको छानबिनमा तादरुकता नदेखाएपछि सात हजार सेयर सदस्यहरुले आपत्ति जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै सहकारीको पैसा चोरीमा सञ्चालक समितिको शंकास्पद भूमिका रहेको दावी गरेका छन । 

सञ्चालक समितिले कार्यालयको सिसिटिभी फुटेजसमेत गायब पारेको सेयर सदस्यहरुको आरोप छ । ‘दुई वटा चेनगेट फुटाएर जाने चोरले साइरन भएको चेनगेट चाहीँ किन नफुटाएको होला ?’, भनिएको छ, ‘सिसिटिभीको रेकर्ड स्टोर हुने हार्डडिस्क चोरले कसरी लग्यो ?’ 

चोरी भएको रकम बिमा कम्पनीले व्यहोर्ने जनाउँदै सञ्चालक समितिका सदस्यहरुले घटनालाई सामसुम पार्न खोजेको उनीहरुको आरोप छ । सेयर सदस्यहरुलाई गुमराहमा राखेर समितिका सदस्यले मनोमानी गरेको भनिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘तैँ चुप मैं चुप गरेर घटनालाई सामसुम पार्न खोजिएको हो ? जवादेहिताबाट भाग्न खोज्ने सञ्चालक समितिको अकर्मण्यताको कारण सबै सेयर सदस्यहरुले संस्थाको सदस्यता त्यागे के हुन्छ ?’ 

सञ्चालक समितिलाई तत्काल घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरिएको छ । जारी विज्ञप्तिमा सदस्यहरु महेन्द्र शाही ठकुरी, ज्ञानबहादुर मगर, धनमाया गुरुङ, हरेन्द्र राई, भोजकुमार पाण्डे, नेकुन अधिकारीलगायतले हस्ताक्षर गरेका छन् ।

टिप्पणीहरू