चिनियाँ गिरोह अनलाइन ठगीमा सक्रिय

चिनियाँ गिरोह अनलाइन ठगीमा सक्रिय
सुन्नुहोस्

अनलाइनमार्फत् ठगी गर्दै आएको चिनियाँ गिरोहलाई जिल्ला प्रहरी कार्यालय, पर्साले नियन्त्रणमा लिएको छ । चीनको हुनान प्रान्तका ३३ वर्षीय लुई गुई काई, हुपेई प्रान्तका २६ वर्षीय वाङ बोहान र ३६ वर्षीय छ्याङ छाऊ पक्राउ परेको बताइएको छ ।

अनलाइन लटरी, सपिङ्गजस्ता विभिन्न प्रलोभनमा नेपाली तथा विदेशी नागरिकलाई ठगेको आरोपमा उनीहरुलाई प्रहरीले पक्रेको हो । त्यस्ता गतिविधिको सुक्ष्म निगरानी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५, बाट उनीहरुलाई हिजो नियन्त्रणमा लिएको थियो । 

चिनियाँहरुको साथबाट प्रहरीले कम्प्युटर एक सय २० थान, मनिटर एक सय १८ थान, पासपोर्ट तीन वटा, मोबाइल ३५ थान, भारतीय सिमकार्ड १३ थान, ल्यापटप चार थान, प्रिन्टर एक थान, विभिन्न बैंकका एटीएम तीन थान, किबोर्ड २६ थान बरामद गरेको छ । 

त्यस्तै, इन्टरनेट स्वीच पाँच थान, वाईफाइ राउटर दुई थान, मिनी इन्भर्टर दुई थान, बीआर ०१ सीएक्स नम्बरको गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल, विदेशी मुद्रासहित पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू