महामारीमा मेडिकल उपकरण बेच्ने र किन्ने भ्रष्टाचारमा डामिए

महामारीमा मेडिकल उपकरण बेच्ने र किन्ने भ्रष्टाचारमा डामिए

मेडिकल उपकरण व्यवसायी विशाल पण्डितलगायत आधा दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पण्डितसहित छ जना र एक कम्पनीउपर मुद्दा दायर गरेको छ ।

आयोगले स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । 

त्यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, हस्पिटेक इन्टरनेशनल प्रालिका बजार व्यवस्थापक मनोजकुमार आचार्य र प्रालिविरुद्ध समेत मुद्दा दायर गरिएको छ । 

उनीहरुले मिलेमतोमा कोरोना महामारीको समयमा कोशी अस्पताल कोभिड–१९ केन्द्र, विराटनगरमा स्वास्थ्य उपकरण वा हाई डिपेन्डेन्सी युनिट (एचडीयु) खरिद गर्ने क्रममा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

अयोग्य बोलपत्रलाई प्रक्रिया पूरा भएको जनाउँदै गलत लिखत प्रतिवेदनको आधारमा बोलपत्र स्वीकृत गरिएको र अस्वाभाविक रुपमा बढी मूल्य तिरिएको देखिन आएको बताइन्छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो कायम गरी सजाय हुन मागदाबीसहित आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू