डिजेल चोरीमा क–कसलाई कारबाही ?

डिजेल चोरीमा क–कसलाई कारबाही ?

हेटौंडामा भएको इन्धन चोरी घटनाबारे छानबिन गर्न नेपाल आयल निगमले समिति गठन गर्ने भएको छ । वितरण शाखाका प्रमुख पूर्ण रिजालको संयोजकत्वमा छानबिन समिति गठन गर्न लागिएको बताइएको छ ।

छानबिन समितिले स्थलगत अध्ययन गर्ने र इन्धन चोरी गरेको भेटिएमा ट्याङ्करसँग सम्झौता तोडिने जानकारी दिइएको छ । गत बिहीबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ स्थित नवदुर्गा आयल स्टोर्सका सञ्चालकलाई अम्लेखगञ्ज डिपोका प्रमुख बिनितमणि उपाध्यायले २४ घण्टे स्पष्टीकरण सोधेका थिए । 

यता, स्टोरको कम्पाउण्डबाट डिजेल चोरी गरेको अवस्थामा पक्राउ परेको ना.७ ख २७९४ नम्बरको ट्याङ्करलाई काठमाडौंको थानकोटस्थित निगमको बागमती प्रादेशिक कार्यालयमा ल्याइएको छ । उपाध्यायले चोरीबारे छिट्टै सत्यतथ्य सार्वजनिक गरिने बताए । 

डिपोले चालकमाथि कारबाहीका लागि केन्द्रीय कार्यालय सिफारिस गर्ने तयारी गरेको छ । यद्यपि, उक्त घटनामा प्रमुखकै हात भएको आशंका छ । डिपोको अपरेसन विभागमा कार्यरत एक कर्मचारीले भने, ‘हामी त हाकिमको निर्देशनअनुसार काम गर्छौं । उहाँकै योजनाअनुसार इन्धन मापन गर्ने हो । कुन ट्याङ्करमा कति इन्धन हाल्ने, कतिको बिल बनाउने कुरा प्रमुखमै भर पर्छ । उहाँको निर्देशनविपरीत डिपोमा काम हुँदैन ।’ 

ट्याङ्करमा थोरै इन्धन भएपनि कर्मचारीले मिलेमतोमा धेरै देखाएर भण्डारण गृहमा खन्याउने गरेको आरोप छ । अपुग देखिएको इन्धन परिमाण बराबरको इन्धन तापक्रम र ढुवानीका क्रममा नोक्सानी भएको देखाउने परिपाटी पुरानै हो । यो प्रवृत्तिले चालक–सहचालक र कर्मचारीलाई फाइदा भएपनि निगमलाई ठूलो नोक्सानी हुँदै आएको छ । 

यद्यपि, निगमका पदाधिकारी भने यस विषयमा मौन बसेका छन् । अभिलेखगञ्जमा गडबढी गरिदिएबापत डिपोको अपरेसन विभागमा रहेका कर्मचारीले चालकबाट आर्थिक फाइदा लिने गरेको आरोप लाग्दै आएको छ । पेट्रोल पम्पका लागि पठाइने ट्याङ्करमा समेत इन्धन हिनामिना हुने गरेको स्रोतको भनाइ छ । 

हेटौंडा प्रहरीले ट्याङ्कर चालक अलाम हवारी र नवदुर्गा आयल स्टोर्सका कर्मचारी वीरेन्द्र साहलाई गत बिहीबार रंगेहात पक्राउ गरेको थियो । स्थानीयको उजुरीपछि उनीहरु डिजेल चोरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

टिप्पणीहरू