बजेट निर्माणमा पञ्चायतकालीन सोच नहटेकोमा राजेन्द्रलक्ष्मीको गुनासो

बजेट निर्माणमा पञ्चायतकालीन सोच नहटेकोमा राजेन्द्रलक्ष्मीको गुनासो
सुन्नुहोस्

राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेट निर्माण प्रक्रिया पञ्चायतकालीन सोचबाट माथि उठ्न नसकेको टिप्पणी गरेकी छन् । संविधानले समावेशी सिद्धान्त अङ्गीकार गरेपनि वजेट भने परम्परागत बन्ने गरेको गुनासो गर्दै उनले यस्तो धारणा राखेकी हुन् । 

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै गैरेले लैंगिक समावेशी बजेट बनाउन अर्थमन्त्रीसँग आग्रहसमेत गरेकी छन् । विकासमा समानता ल्याएर संमृद्धि हासिल गर्न महिला, दलित, युवा तथा पछाडि परेका समुदाय केन्द्रित बजेट बनाउन सक्नुपर्ने उनको जोड छ । 

‘महिला, दलित, युवा, पछाडि परेको क्षेत्रको हिसावले हेर्दा हाम्रो लैंगिक बजेट कहाँ छ ? हामीले हाम्रो क्षेत्रका पछाडि परेका जनतालाई उकास्ने बजेट कुन शीर्षकमा छ ? हामीले देखेनौँ’, सांसद गैरेले भनिन्, ‘परम्परागत बजेट भयो । पञ्चायतकालमा जे गर्यौँ आज हाम्रो योजना बाँडफाँड शक्तिको आडमा जसले सक्छ उसले लैजाने खालको भयो । यस्तो खालको परिकल्पना हाम्रो संविधानले गरेको छैन ।’

विगतमा योजना बाँडफाँड शक्तिको आधारमा हुने गरेको जनाउँदै उनले यसपटक न्यायपूर्ण वितरण हुने विश्वाससमेत व्यक्त गरेकी छन् । ‘अबको बजेट आउँदा लैंगिक समावेशी बजेट आउनुपर्यो । जसले गर्दा पछाडि परेको क्षेत्र र भूगोललाई विकासमा समानता ल्याउन सक्छौँ । न्याय दिलाउन सक्छौँ । गैरेले भनिन्, ‘न्यायपूर्ण वितरण प्रणालीलाई अपनाउनको निम्ति सबैलाई समेटेको बजेट आओस् । अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

टिप्पणीहरू