विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारको तयारी

विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारको तयारी
सुन्नुहोस्

सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका निम्ति आवश्यक तयारी गर्न निर्देशन दिएको छ । 

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नाराका साथ शैक्षिक सत्र २०८१ को भर्ना अभियान सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देश गरेको हो । 

सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, सामुदायिक विद्यालयलाई पत्राचार गर्दै केन्द्रले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई मौलिक हक कार्यान्वयनको सुनिश्चिचता गर्न भनेको छ । केन्द्रले स्थानीय तहलाई विद्यार्थी भर्ना अभियान कार्यक्रमको नेतृत्व गर्ने, विद्यालयलाई अभियान सञ्चालन गर्ने र इकाईलाई कार्यक्रममा आवश्यक समन्वय र सहजीकरण गर्ने जिम्मेवारी तोकिदिएको छ । 

वैशाखको पहिलो साता विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम सञ्चालन र पाठ्यपुस्तक वितरण गर्न, दोस्रो सातादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठनका साथै घरदैलो लगायतका कार्यक्रम सञ्चालन गर्न सूचित गराइएको छ । 

साथै, आ–आफ्नो क्षेत्रभित्रका अभिभावकलाई टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालसमेतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न लगाउने व्यवस्था मिलाउन, अभिभावकविहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउन र त्यस्ता बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्ने व्यक्तिहरुको उचित पहिचान गर्न, सम्मान र अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको छ । 

नयाँ शैक्षिक सत्र आगामी वैशाख २ गतेबाट शुरु हुँदैछ ।

 

टिप्पणीहरू