बुवाआमा हेडमास्टर, छोराछोरी डाक्टर

बुवाआमा हेडमास्टर, छोराछोरी डाक्टर

आमाबुवा दुवै सरकारी विद्यालयका प्रधानाध्यापक, छोराछोरी स्वास्थ्य पेशामा संलग्न । यस्तो सौभाग्य कमैलाई प्राप्त हुन्छ । जाजरकोटको खलंगाका भक्तबहादुर मल्लको परिवारले यस्तो सुःखद अवसरको अनुभव गर्न पाएको छ ।

उनीहरुको परिवारलाई गाउँकै उदाहरणीय र प्रेरणादायी परिवारका रुपमा चिनिन्छ । बुवा भक्तबहादुर र आमा गीताकुमारी शाही मल्ल दुवै जना स्थानीय सामुदायिक विद्यालयका प्रधानाध्यापक हुन् । छोरा भुपेन्द्रप्रकाश मल्ल र छोरी समीक्षा मल्ल डाक्टर हुन् । अर्की छोरी सुष्मा मल्ल स्टाफ नर्स ।

२०२६ भदौ २६ गते भेरी नगरपालिका ४ मा जन्मिएका मल्ल सदरमुकाम खलंगास्थित त्रिभुवन माविका प्रधानाध्यापक हुन् । करिब आठ सय विद्यार्थी रहेको विद्यालयको नेतृत्व तीन वर्षदेखि उनले सम्हालिरहेका छन् । २०५४ मा अस्थायी रुपमा शिक्षण पेशामा जोडिएका उनी २०६० सालमा मावि तहको शिक्षकमा स्थायी भए । हाल मावि तह द्वितीय श्रेणीमा कार्यरत मल्लले कानुनमा स्नातक र शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् ।  

गीताकुमारी बुद्धि आधारभूत विद्यालय, बोहराकी प्रधानाध्यापक हुन् । २०४६ सालमा स्थायी शिक्षक भएकी उनी प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत छिन् । स्नातकसम्मको अध्ययन पूरा गरेकी उनले विगत दुई वर्षदेखि सो जिम्मेवारी निर्वाह गरिरहेकी छिन् । 

छोरा भुपेन्द्रले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेका छन् । जिल्ला अस्पतालमा पाँच वर्ष सेवा गरेर उनी हाल विराटनगरमा एमडी गरिरहेका छन् । कान्छी छोरी समीक्षाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस गरेकी हुन् । उनी जिल्ला अस्पताल, जाजरकोटमा तीन वर्षदेखि मेडिकल अधिकृत पदमा कार्यरत छिन् ।

दुवै जनाले सरकारी छात्रवृत्तिमा एमबीबीएस गरेका हुन् । जेठी छोरी सुष्मा सरकारी स्थायी स्टाफ नर्स छिन् । नेपाली सेनामा नाम निस्केपछि केही समय त्यहाँ कार्यरत उनी हाल शिक्षण अस्पताल, महाराजगञ्जमा जागिरे छिन् । अर्को प्ररणादायी विषय के भने सो परिवारका तीनै जनाले जाजरकोटबाट एसएलसी परीक्षामा जिल्ला फष्र्ट गरेर रेकर्ड कायम गरेका हुन् । 

बुवा भक्तबहादुरले २०४२ सालमा जिल्ला प्रथम भएर एक हजार दुई सय रुपैयाँ पुरस्कार पाएका थिए । छोरा भुपेन्द्रले २०६४ सालमा एसएलसीमा जिल्ला प्रथम भएर १० हजार र छोरी समीक्षाले २०६८ सालमा जिल्ला प्रथम भएर १० हजार नगद पुरस्कार हात पारेका थिए । 

भक्तबहादुर भन्छन्, ‘मैले सानो छँदा निकै दुःखजेलो गरेर पढेको हुँ । हाम्रो आर्थिक अवस्था कमजोर थियो, तैपनि मलाई मेरो बुवा र दाइले पढाउनुभयो । विवाह गरे । म अधिवक्ता पनि हुँ । तरपनि दुवै जनाले शिक्षण पेशा रोज्यौ । छोराछोरीलाई पढायौं । छात्रवृत्तिमा नाम ननिस्केको भए निजी स्रोतबाट पढाउन सक्ने हैसियत थिएन । अहिले छोराले एमडी गरिरहेको छ ।’

जिन्दगीभरको कमाइ छोराछोरीकै पढाइमा लगानी गरेको भक्तबहादुर बताउँछन् । उनी अहिले आफैंले अध्ययन गरेको विद्यालय त्रिभुवन माविको प्रधानाध्यापक हुन् । छोराछोरीलाई पनि एसएलसीसम्म सोही विद्यालयमा पढाए । मल्ल भन्छन्, ‘छोराछोरीले पढे । सक्षम भएका छन् । यही कुरामा खुसी छु । लगनशीलता र मेहनत नै सफलताको सारथी हो ।’

टिप्पणीहरू