नयाँ पाठ्यपुस्तक पुरानै मूल्यमा

नयाँ पाठ्यपुस्तक पुरानै मूल्यमा
सुन्नुहोस्

आउँदो शैक्षिक सत्रका लागि छापिएका पाठ्यपुस्तकमा पुरानै मूल्य लागू गर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । 

केन्द्रले एक सूचना प्रकाशित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७७ का लागि स्वीकृत गरेको मूल्य नै यथावत भएकोले सोअनुरुप गर्न भनेको हो । कक्षा १ देखि १० सम्मका चार रङका र कक्षा ११ र १२ का पाठ्यपुस्तक (संस्कृत धारसमेत) को मूल्य विवरण अनुसार गर्न गराउन केन्द्रले भनेको छ । 

कक्षा १ को मातृभाषा र स्थानीय विषयबाहेक पुस्तकको जम्मा मूल्य पाँच सय २० रुपैयाँ तोकिएको छ । त्यस्तै, कक्षा २ को पाँच सय ५६, कक्षा ३ को पाँच सय ८०, कक्षा ४ को पाँच सय ९६ र कक्षा ५ को छ सय ३२ रुपैयाँ कायम गरिएको छ । 

त्यसैगरी, कक्षा ६ को सात सय ७, कक्षा ७ को सात सय ४८, कक्षा ८ को आठ सय ७८, कक्षा ९ को सात सय ९६ र कक्षा १० को नौ सय २२ रुपैयाँ तोकिएको छ । कक्षा ११ को अनिवार्य तीन विषयको जम्मा मूल्य दुई सय ६९ छ भने कक्षा १२ को तीन सय १६ रुपैयाँ छ । 

केन्द्रले विवरणमा समावेश हुन नसकेका पाठ्यपुस्तकहरुका मुद्रणीय प्रति एक रङमा भए प्रतिपेज ०.३६ र बहुरङमा छापिएका पाठ्यपुस्तकका हकमा नेपाली माध्यममा छापिएका पाठ्यपुस्तक सरह ०.५५ का दरले हुन आउने रकम (प्रिलिम्ससहित) कितावको कभर वा प्रिलिम्स पेनमा उल्लेख गरी छपाई तथा वितरण गर्नुपर्ने समेत जनाएको छ । 

यस्तै, पाठ्यपुस्तकको पृष्ठसंख्या फरक परी मूल्य फरक परेमा पृष्ठसंख्या हेरी सच्याइने केन्द्रको भनाइ छ ।

टिप्पणीहरू