फोनमा बोल्नेहरु,महरा बनिएला,होशियार !

फोनमा बोल्नेहरु,महरा बनिएला,होशियार !
सुन्नुहोस्

चार दशक लामो राजनीतिक यात्रामा संघर्ष र सफलता दुबैलाई नजिकबाट अनुभूत गरेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा जीवनको उत्तरार्धमा आइपुग्दा दोस्रोपटक प्रहरी हिरासतमा पुगेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धान क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज बिहान उनलाई कपिलवस्तुबाट गिरफ्तार गरेको हो ।

भैरहवा हुँदै रोल्पा जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएका उनलाई जहाजमा राखेर काठमाडौँ ल्याइएको छ । आफ्नै पार्टीका अध्यक्ष सरकार प्रमुख रहेका बेला कुख्यात अपराधीलाई झैँ बाटो छेकेर समातिएका महराले चार दशक लामो राजनीतिक यात्रामा हासिल गरेको उचाइ गर्ल्याम्मै ढलेको छ। 

जनयुद्धकालमा माओवादीको जति चर्चा हुन्थ्यो,त्योभन्दा बढी चर्चित थिए महरा । जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणको जटिल प्रक्रियामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बलियो सारथीका रुपमा उनले आफूलाई उभ्याएका थिए । २०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी भएका र ३२ वर्षको युवा उमेरमै सांसद भएका उनलाई जनयुद्धले नै चिनाएको हो । सरकार-माओवादी पहिलो वार्ता टोलीको संयोजक रहँदा उनी सर्वसाधारणको 'नोटिश'मा परेका थिए । जनयुद्धप्रति नकारात्मक दृष्टिकोण राख्नेहरु पनि त्यसबेला महराको शालिन व्यक्तित्व र शान्त स्वभावको खुलेर प्रशंसा गर्दथे । 

त्यसो त,राजकीय अवसर पाइरहने नेताका रुपमा पनि महराको परिचय बनेको छ । एकताका 'माओवादीभित्रको विजयकुमार गच्छेदार' भनेर व्यंग्यसमेत हुन्थ्यो । तर,सभामुख भएकै बेला यौनकाण्ड लागेर पद त्याग गरेयता उनी कुनै पनि राजकीय भूमिकामा छैनन् । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको गम्भीर आरोप लगाएपछि तत्कालिन नेकपा नेतृत्वको दबाबमा सभामुख र सांसद पदबाट राजनीमा दिन बाध्य पारिएका उनीमाथिको आरोप अन्तत: ठहर भएन । कानुनको नजरमा निर्दोष ठहरिए पनि उनीमाथि लागेको दाग अझै पखालिएको छैन, सम्भवत: पखालिंदैन पनि । 

"कुनै मान्छेले चिनजानका आधारमा 'मेरो सामान भन्सारमा अड्कियो,तपाईंले भनेर निकाल्दिनुपर्यो' भनेकै आधारमा मुद्धा स्थापित हुन्छ कि हुँदैन ? हामीले महराको पक्ष लिन खोजेको पक्कै होइन, तर फोन सम्पर्क भएकै आधारमा मुद्दा चलाउँदै जाने हो भने को बाँकी रहला ?"

हुन त त्यसअघि पनि एकजना चिनियाँ व्यापारीसँग रकम मागेको अडियो सार्वजनिक भएपछि महराको चर्को आलोचना नभएको होइन । तर, त्यसले राजनीतिमा केही अप्ठेरो पारे पनि उनको निजी जीवनमै असर पारेको चैं यौनकाण्डले हो । महरा गत आमचुनावमा टिकटको दावेदार थिए । तर,प्रत्यक्षतर्फ टिकट नदिएको माओवादीले उनलाई समानुपातिक सूचीमा पनि राखेन । अहिले 'लो प्रोफाइल' रहेका उनी बिरामीका कारण राम्रोसँग बोल्न समेत नसक्ने अवस्थामा छन् । 

भनिन्छ नि,ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ । महरा यस्तै खेदाईमा परेका पात्र हुन् । राजनीतिका प्रतिश्पर्धीले मात्र होइन, दैबले समेत खेदेको छ उनलाई । जीवनको उत्तरार्द्धमा पटक-पटक जेल बस्न बाध्य पारिएका महराको पारिवारिक अवस्था कम पीडादायी छैन । तीन वर्षअघि जीवनसंगिनी गुमाएका उनको परिवारमा एकपछि अर्को बज्रपात परिरहेको छ । राजनीतिको कठिन क्षणमा समेत साथ दिएकी श्रीमती सीतालाई गुमाएका महरा परिवार अहिले तहसनहस जस्तै छ । कान्छा छोरा राहुल सुन तस्करीको आरोपमा जेलमा छन् । छोरी प्यारालाइसिसले ओछ्यान परेकी छन् भने जेठा छोरालाई भागेर हिंड्नुपर्ने अवस्था छ । 

के महरा साँच्चै सुन तस्करीमा संलग्न रहेकै होलान् त ? कुनै मान्छेले चिनजानका आधारमा 'मेरो सामान भन्सारमा अड्कियो,तपाईंले भनेर निकाल्दिनुपर्यो' भनेकै आधारमा मुद्धा स्थापित हुन्छ कि हुँदैन ? हामीले महराको पक्ष लिन खोजेको पक्कै होइन, तर फोन सम्पर्क भएकै आधारमा मुद्दा चलाउँदै जाने हो भने को बाँकी रहला ? महरा स्वयंले स्वीकारेको र बाहिर सार्वजनिक भएको तथ्य के हो भने - भेपमार्फत भएको सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक वाङ्ग दावाजिनले फलफूल व्यापारीका रुपमा चिनाएका थिए । प्रधानमन्त्री प्रचण्डलगायत थुप्रै नेताहरुसँग उनको चिनजान रहेको कुरा पनि बाहिर आइसकेको छ । 

त्यही चिनजानका आधारमा दावाजिनले महरालाई भेटेर 'भन्सारमा विद्युतीय सिगरेट रोकियो,छुटाउन सहयोग गरिदिनुपर्यो' भनेपछि भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको कुरा महराले पनि अस्वीकार गरेका छैनन् । तर,न उनी आफैं सुनको कारोबारी हुन्,न सुन ल्याएको ठहर हुने प्रमाण नै देखिएको छ । न कसैसँग एक टुक्रा सुन बुझेको तथ्य स्थापित हुन्छ । अनि देशको सम्मानित पदमा रहिसकेको एकजना नेता 'कुख्यात अपराधी' लाई झैँ बाटोबाटै समातिनुपर्ने कारण के होला ? के महरा देश छोडेर भाग्दै थिए ?  

रविको पार्टीलाई चुनाव जिताउन महराजस्ता अरु कतिले जेल बस्नुपर्ला ?

धेरैको आशंका छ- कतै गृहमन्त्री रवि लामिछानेको लोकप्रियतावादको शिकार बनेका त होइनन् महरा ? किनभने तत्कालिन प्रमुख प्रतिपक्ष एमाले र रविकै मागअनुसार सुन तस्करी छानविनका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई समातिएको भनिएको छ । जबकि सो प्रतिवेदनमा महरा स्वयं तस्करीमा संलग्न रहेको तथ्य उल्लेख छैन । 

गृहमन्त्री लामिछाने आफैँ सहकारी ठगी,राहदानी दुरुपयोग,राष्ट्रिय परिचयपत्र घोटालाजस्ता काण्डमा मुछिएका छन् । आरोप लागेकै आधारमा मुद्दा चल्ने हो भने स्वयं गृहमन्त्री कसरी उम्किन सक्लान् ? 'सुशासन' को पक्षमा काम गरिरहेको देखाएर आफूमाथि लागेका यस्ता आरोपलाई पन्छाउन खोजेको त होइन ? भन्ने प्रश्न एकातिर छ । अर्कोतिर कुनै बैचारिक तथा सैद्धान्तिक आधारबिनै उदाएका रवि लोकरिझ्याईको राजनीतिमा विश्वास गर्छन् । यस्तै स्टण्ट गरेर आगामी चुनावमा प्रधानमन्त्री बन्ने उनको घोषित नीति नै छ ।  तत्काल इलामको उपचुनाव जित्नका लागि पनि केही गरेको देखाउनुपर्ने बाध्यता छ उनलाई । 

महरालाई बाटो छेकेर पक्राऊ गरिनुलाई कतिपयले पुराना केश उधिनेर मान्छे समात्दै 'हिरोइज्म' देखाउने गृहमन्त्रीको महत्वाकांक्षाको परिणाम त होइन ? भनेर आशंका गरेका छन् । त्यसो हो भने,रविको पार्टीलाई चुनाव जिताउन महराजस्ता अरु कतिले जेल बस्नुपर्ला ?

त्यसो त,महराले मुलुकका निम्ति उत्पातै राम्रो गरेका थिए भन्ने हाम्रो कुनै दावी होइन । उनी दोषी हुन् या होइनन् फैसला सुनाउने पनि हाम्रो काम होइन । त्यसको न्यायिक निरुपण पछि न्यायालयले गर्ने नै छ ।

टिप्पणीहरू