शोकमा रहेका महरा दाङ होइन, रोल्पा जाँदै थिए

शोकमा रहेका महरा दाङ होइन, रोल्पा जाँदै थिए
सुन्नुहोस्

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले यात्राकै क्रममा पक्राउ गरेपछि परिवारले आपत्ति जनाएको छ । 

महरालाई रुपन्देहीबाट दाङ्ग जाने क्रममा पकडीको सडकमा ब्यारिकेड खडा गरेर पक्राउ गरिएको भनिएको छ । तर, उनी दाङ नभएर रोल्पा जान लागेको छोरी प्रगति महराले जानकारी दिइन् । 

साताअघि मात्र रोल्पाको सुनछहरी गाउँपालिकास्थित आफन्ती (प्रगतिको सानोबुवा)को भीरबाट लडेर मृत्यु भएको थियो । शोकमा रहेको परिवारलाई सान्त्वना दिन महरा त्यता जान लागेका थिए । उनका पिएसओ गत शुक्रबार नै रोल्पा पुगिसकेका छन् । पर्सि काठमाडौँ फर्कने योजनाका साथ महरा आज त्यता जाँदै थिए । 

'जो सोझो उसकै मुखमा घोचो' भने झैँ बद्नियतपूर्वक महरालाई पक्राउ गरिएको प्रगतिले बताइन् । उनले जनआस्थासँग भनिन्, 'बुबालाई बयानको लागि पक्राउ गरिएको भनिएको छ । तर प्रहरीको यो शैली शोभनीय भएन । बुबाले पहिले पनि बयान दिइसक्नु भएको थियो । फेरि बयान लिनकै लागि बोलाउनु थियो भने कुनै पत्र पठाएर बोलाउन सकिन्थयो । बुबा आफैँ प्रहरीमा उपस्थित हुनुहुन्थ्यो, यसरी ठूलै अपराधीजसरी बाटोबाटै पक्राउ गर्नु पर्ने अवस्था नै थिएन ।' 

पारिवारिक शोकमै रहेको बेला प्रहरीले पक्राउ गरेर गलत गरेको प्रगतिको दुखेसो छ । 'हाम्रो परिवार अहिले शोकमा छ । यसबारेमा बुबाले प्रचण्डलाई पनि आफू रोल्पा गएर पर्सिसम्ममा काठमाडौँ फर्किने जानकारी गराइसक्नुभएको थियो । त्यसपछि रोल्पाको लागि निस्कनुभएको हो', उनले भनिन्, 'तर केही मिडियाले भारत भाग्न लागेको भन्ने समाचार लेखेका रहेछन्, त्यो सत्य होइन ।'

टिप्पणीहरू