पत्रकारहरुमाथि नगरप्रहरीद्वारा दुर्व्यवहार

पत्रकारहरुमाथि नगरप्रहरीद्वारा दुर्व्यवहार

समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघ सुनसरी शाखाका सदस्य एवम् शिलापत्र डटकमका संवाददाता कृष्ण भट्टराईमाथि इटहरी उपमहानगरपालिकाका नगर प्रहरीले दुर्व्यवहार गरेकोमा महासंघले भत्सर्ना गरेको छ । 

गत बिहीबार उपमहानगरपालिकाको कार्यालयअगाडि धर्ना बसेका सिटी सवारी चालकको आन्दोलनको समाचार संकलन गर्न पुगेका भट्टराईलाई धकेलेर नगरप्रहरीले मोबाइल खोसेका थिए । महासंघले उक्त घटनाको विरोध गर्दै व्यवसायिक पत्रकारिताको सम्मान गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ । 

‘यही चैत १ गते ईटहरी उपमहानगरपालिका कार्यालयअगाडि धर्नामा बसेका सिटी सवारी चालकको आन्दोलनको समाचार संकलन गर्ने क्रममा पत्रकार भट्टराईलाई नगरप्रहरीले धक्का लगाउँदै मोबाइल खोस्नुका साथै दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले जनाएको छ । पत्रकार रहेको जानकारी हुँदाहुँदै नगरप्रहरीबाट भएको यस घटनाको महासंघ विरोध गर्दै व्यवसायिक पत्रकारिताको सम्मान गर्न आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, महासंघले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

टिप्पणीहरू