सिधा कुराको समाचार हटाउन र अडियोको वैधानिकता जाँच्न आदेश

सिधा कुराको समाचार हटाउन र अडियोको वैधानिकता जाँच्न आदेश

सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रशारण गरेको शंकाश्पद अडियोको वैधानिकता जाँच्न आदेश दिएको छ । 

न्यायाधीशद्धय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको समाचार सामग्रीमा उठाइएका विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको हो । 

आदेशमा भनिएको छ,‘पेश भएको श्रव्यदृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिदाँ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदन सहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेश गर्नु भनि प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’

त्यस्तै, अनलाइनले सम्प्रेषण गरेको सामग्री २४ घण्टाभित्र हटाएर प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई जानकारी गराउन पनि अदालतले आदेश दिएको छ । 

अनलाइनले पछिल्लो समय ‘द डार्क फाइल’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममार्फत एक शंकाश्पद अडियोसहित सार्वजनिक गरिएको सामग्री भ्रामक र कपोकल्पित भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध हिजो अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

टिप्पणीहरू