वन फँडानीमा वन अधिकृतसहित दुई दर्जन संलग्न

वन फँडानीमा वन अधिकृतसहित दुई दर्जन संलग्न

डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीसहित २४ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको बताइएको छ । 

तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सबडिभिजन वन कार्यालय बर्दिबास, महोत्तरीका पनि तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोमाथि भ्रष्टाचारको आरोप छ । 

त्यस्तै, नापी कार्यालय बर्दिबासका तत्कालीन अमिन रामदशरथ राउत, मालपोत कार्यालय बर्दिबासका तत्कालीन नायव सुब्बा ओमप्रकाश खड्का, बर्दिबास नगरपालिका वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल र वडासदस्य शान्तादेवी श्रेष्ठविरुद्धसमेत भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

यता, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउत, उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, सदस्यहरु उर्मिला थापामगर र पूर्णबहादुर सुस्लिङ्ग, उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया क्षेत्री, ठेकेदार सुन्दिप नेपालीसँगै बर्दिबास नगरपालिका–१ का जग्गाधनीद्वय लिलामणि आचार्य र कृष्णप्रसाद गौतमविरुद्ध पनि अख्तियारविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

उनीहरुले रम्तेलडाँडा सामुदायिक वनका रुखहरु जथाभावी काटेको, वन क्षेत्रको जग्गामा तारबार गरेर कब्जा गरेको अख्तियारको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । 

‘गलत सिफारिस तथा प्रतिवेदनका आधारमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुखमा छापा, टाँचा गराई कटान गर्न ईजाजत दिई वन क्षेत्रको रुखहरु व्यक्तिलाई लाभ हुने गरी विभिन्न जातका ४०६ वटा रुख कटान गरी गराई ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा उनीहरुविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवाना हुनुपर्ने जिकीर गरेको छ ।

टिप्पणीहरू