प्रहरीको कुटाइबाट अध्यक्षको अवस्था गम्भीर, सहकारी पीडितहरुको धर्ना जारी

प्रहरीको कुटाइबाट अध्यक्षको अवस्था गम्भीर, सहकारी पीडितहरुको धर्ना जारी
सुन्नुहोस्

प्रहरीको कुटाइबाट सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्षको स्वास्थ्य अवस्था गम्भीर भएको छ । धर्नाको क्रममा अस्ति राति पक्राउको क्रममा अध्यक्ष कुशलव केसीलाई कुटपिट गरिएको बताइएको छ ।

उनको हिजो रातिदेखि वीर अस्पतालमा उपचार भइरहेको छ । सो क्रममा कोषाध्यक्ष देव श्रेष्ठलाई समेत पक्राउ गरेर प्रहरी परिसर टेकू पुर्याइएको थियो । केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनीहरुलाई हिजो साँझ रिहा गरेको हो । प्रहरी हिरासतमा अचेत भएपछि केसीलाई वीर अस्पताल लगिएको पीडित आन्दोलनकारीहरुले जनाएका छन् ।

कोषाध्यक्ष श्रेष्ठले भने, ‘अस्तिको शान्तिपूर्ण र्यालीमा प्रहरीले धरपकड गरेर हामीलाई गिरफ्तार गर्यो । हिरासतभित्र हतकडी लगाइयो । प्रहरी दमनबाट पछि हट्ने छैनौं ।’

प्रवक्ता पुरुषोत्तम कार्कीले सहकारी पीडितहरुलाई आज पनि धर्ना जारी राख्न अनुरोध गरेका छन् । उनका अनुसार बिहान १० बजेदेखि तीनकुनेमा धर्ना कार्यक्रम राखिएको छ । उनीहरुले निक्षेपको साँवा ब्याज अबिलम्ब फिर्ता र त्यसको सुनिश्चितताको लागि आयोजित धर्ना कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने बताएका छन् ।

टिप्पणीहरू