एपिएफ फुटबल क्लब कारबाहीमा, ११ हजार रुपैयाँ जरिवाना

एपिएफ फुटबल क्लब कारबाहीमा, ११ हजार रुपैयाँ जरिवाना

झापा गोल्डकपमा प्रतिस्पर्धा गरिरहेको सशस्त्र प्रहरी बल नेपालको एपिएफ फुटबल क्लबमाथि कारबाही भएको छ । जर्सी अभावका कारण टेप टाँसेर खेल खेलेका कारण कारबाही गरिएको बताइएको छ । 

झापा गोल्डकपअन्तर्गत हिजो भएको क्वार्टरफाइनल खेलमा क्लबले जर्सीमा टेप टाँसेर खेलेको थियो । उक्त खेलमा एपिएफले बागमती युथ क्लबलाई ४–३ गोलले हराउँदै सेमिफाइनल यात्रा समेत तय गरेको छ । 

तर, एपिएफले जर्सी अभावका कारण टेप टाँसेर खेलेको विषय विवादित बनेपछि कारबाही गरिएको हो । एपिएफको उक्त कदमले प्रतियोगिता नियमावलीको दफा १० को प्रावधान उल्लंघन गरेको आयोजकले जनाएको छ । 

झापा गोल्डकपद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती युवा क्लब र एपिएफ फुटबल क्लबबीच खेलमा एपिएफ फुटबल क्लबले झापा गोल्डकप २०८० को प्रतियोगिता बमोजिम नियमावलीको दफा १० को प्रावधानबमोजिमको खेलाडीको जर्सी तथा जर्सीको रङसम्बन्धी नियम उल्लंघन गरी खेल खेलेकोले यसबाट फुटबल खेलको मर्यादा तथा झापा गोल्डकपको गरिमामा आँच पुर्याउने कार्य भएको छ ।’

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्ने तथा आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धतसँगै एपिएफ क्लबलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।

टिप्पणीहरू