प्रधानमन्त्रीको विरोध गरिरहने एमाले अध्यक्ष एकाएक कांग्रेसप्रति आक्रामक

प्रधानमन्त्री र माओवादी केन्द्रको चर्को आलोचना तथा साझेदार नेपाली कांग्रेसप्रति तुलनात्मक रुपमा नरम अभिव्यक्ति दिँदै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज भने फरक रुपमा प्रस्तुत हुनुभएको छ । 

आज पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रममा उहाँले अधिकांश समय नेपाली कांग्रेसको अर्थनीति र अर्थमन्त्रीको आलोचना गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भने खासै विरोध गर्नुभएन । जबकि यसअघिका यस्ता कार्यक्रमहरुमा ओली बढीजसो प्रचण्ड र माधव नेपालको निन्दामा समय खर्चिनुहुन्थ्यो । 

आज सांसदहरुलाई प्रशिक्षण दिंदै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त सरकारले बुझ्न नसकेको आरोप लगाए पनि आक्रामक भने हुनुभएन । तर, कांग्रेसप्रति भने ओलीले तिखो कटाक्ष गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा अर्थमन्त्री डा. प्रकाशशरण महतमा अर्थतन्त्र चलाउने कुनै क्षमता नदेखिएको भन्दै उहाँले कडा आलोचना गर्नुभयो । 

अर्थमन्त्रीले नियम, कानून,मर्यादा,प्रचलन नमानेर घमण्ड देखाएको पनि अध्यक्ष ओलीको आरोप छ । महतले देशको अर्थतन्त्र ओरालो लगाएको बताउँदै उहाँले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेकाले समस्या निम्तिएको ठोकुवासमेत गर्नुभयो ।

‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको । यसस्तरको सरकार,यसस्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो,जसले नियम कानून,मर्यादा,प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ । त्यो देखिन्छ । न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ', ओलीले भन्नुभयो । 

त्यसक्रममा उहाँले अर्थमन्त्री महतको विज्ञतामाथि पनि प्रश्न उठाउनुभएको छ । 'सुनेको,अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ ? अचम्म लाग्छ !', ओलीले भन्नुभयो, 'देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ । यो सरकार बन्नु नै नहुने सरकार थियो ।’

निजीकरणका नाममा उद्योगधन्दा चौपट्ट पारेको भन्दै अध्यक्ष ओलीले सिङ्गै काँग्रेसको पनि आलोचना गर्नुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने कांग्रेसको नीतिले उल्टो समाप्त पारिदिएको नगरेको उहाँको भनाई छ । 

कांग्रेसले नै उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको जिकिर गर्नुभएका अध्यक्ष ओलीले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि निकिनिएको पनि दावी गर्नुभयो ।

‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ । दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो । हामी कहाँ दुई/चारवटा उद्योग आएको पनि निजीकरण भनेर काँग्रेसले उहिल्यै सिध्यायो । निजी क्षेत्रलाई पनि सिध्याइदियो । हाम्रा जो उद्योगहरु थिए ति भ्रष्ट बनाइदियो । जसले गर्दा उनीहरुले पनि चलाउनेका लागि किनेनन् । बाँसबारी छाला जुत्ता चलाउनका लागि किनेनन् । हेटौँडा कागज कारखाना चलाउनका लागि किनेनन् । अर्कै त्यसको जमिनको प्रयोजन, आदि इत्यादिका लागि किने र त्यहाँ कमिसनको एउटा फोहोरी काम भयो' उहाँले भन्नुभयो । 

राष्ट्रियसभा अध्यक्ष निर्वाचनको सन्दर्भमा एमाले र माओवादीबीच सहकार्य हुने चर्चा चलिरहँदा अध्यक्ष ओलीको यस्तो फरक रुप प्रकट हुन थालेको हो ।
 

टिप्पणीहरू