बसले ओभरट्याक गर्न खोज्दा ट्रिपर र बोलेरो ठोक्किए, तीन जनाको मृत्यु

बसले ओभरट्याक गर्न खोज्दा ट्रिपर र बोलेरो ठोक्किए, तीन जनाको मृत्यु
सुन्नुहोस्

मोरङको बेलबारीमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
 
बिहान साढे ६ बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत कार्यालय जाने बाटोमा टिपर, बस र बोलेर गाडी एकापासमा ठोक्किएको थियो । प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपर, बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बस र मे १ ज २८५६ नम्बरको बोलेरो जुध्दा सो दुर्घटना भएको हो । 

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा झापाको कमल गाउँपालिका–२ का ५५ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेल हुन् । त्यस्तै, कमल गाउँपालिका–२ की ४८ वर्षीया गायत्री भट्टराई र ४६ वर्षीय हरि भट्टराई घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी रन्जन दाहालका अनुसार उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको पाइएको र यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

टिप्पणीहरू