सवारीसाधन चोरीमा महिलाको संलग्नता बढ्दो

सवारीसाधन चोरीमा महिलाको संलग्नता बढ्दो

पछिल्लो समय मुलुकका सबैजसो स्थानबाट सवारीसाधन हराउने क्रम बढ्दो छ । त्यसमा पनि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधन धेरै हराउने गरेको पाइएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बस्ने सन्देश साहको मोटरसाइकल गत साउन ८ गते चोरी भयो । स्थानीय पन्नालाल मावि नजिकै पार्किङ गरिएको प्रदेश ०३–०२ ८ प ६०८५ नम्बरको मोटरसाइकल एकाएक हराएको बताइन्छ । 

घर निर्माणको काम भइरहेकाले उनी मोटरसाइकल लिएर त्यहाँ पुगेका थिए । सोही क्रममा दुई महिनाअघि किनिएको पल्सर मोटरसाइकल चोरी भएको हो ।े मोटरसाइकल हराएपछि प्रहरी कार्यालयमा उजुरी दिए । 

यता राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल चोर्दै आएका तीन जना गत पुस १० गते समातिए । कपन बस्दै आएका कालिकोटका २५ वर्षे नवीनकुमार शाही, २९ वर्षे रमेश बम र २० वर्षे दन्त शाहीलाई प्रहरीले पक्रेको हो । 

उनीहरुले तीन वटा मोटरसाइकल चोरेका थिए । बौद्धमा पार्किङमा राखिएको बा. ६३ प २७२७, सिनामंगलबाट बा.७० प ६३०५ र टुसालमा बा.प्र.०२–०१६ प ५८६३ नम्बरको मोटरसाइकल चोरेको उनीहरुले स्वीकारेका छन् ।

ललितपुरमा स्कुटर चोरेको आरोपमा गत माघ २० गते दुई युवक पक्राउ परे । काठमाडौंको बल्खुमा बस्ने मकवानपुरका २८ वर्षीय सनम मगर र २० वर्षीय शैलेश आले समातिएका हुन् । 

उनीहरुले ललितपुर महानगरपालिका–१३, नख्खु सनराईज अर्पाटमेण्टबाट बा.९७ प ३०२ र गोदावरी नगरपालिका–१३ झरुवारासीबाट बा.९५ प २८०९ नम्बरको स्कुटर चोरेको प्रहरीको आरोप छ ।
 

माघ २० गते नै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीबाट मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई जनालाई समात्यो । 

बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकल बेपत्ता पारिएको घटनामा मकवानपुरका २४ वर्षीय छबिलाल बज्युसहित १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

मोटरसाइकल हराएका घटना बढ्दै गएपछि मोरङ प्रहरीले चोरीमा संलग्न संगठित गिरोहको खोजतलास एवम् नियन्त्रणको लागि ‘विशेष अपरेसन’ नै सञ्चालन गरेको जनाएको छ । 

सो क्रममा सयभन्दा बढी मोटरसाइकल चोरेर भारतीय बजारमा बिक्री गर्दै आएको गिरोहका द्ुई जना समातिएका हुन् । उनीहरुलाई गत मंसिर २९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा गाउँपालिका–६ का ३९ वर्षी नजाम अन्सारी हुन् । 

उनीहरुले अत्यधिक भीडभाड हुने ठाउँबाट मोटरसाइकल चोर्ने गरेको प्रहरीको भनाइ छ । अस्पताललगायत स्थानको पार्किङलगायत क्षेत्र उनीहरुको रोजाइमा पर्दै आएको बताइन्छ । उनीहरुको साथबाट प्रहरीले ब्राउनसुगरसमेत फेला पारेको थियो ।

गत वर्ष सप्तरीमा कुटपिटको उजुरी लिएर पुगेका एक जना पीडितको प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी भयो । जग्गाको विषयमा विवाद भएपछि आफ्नै दाजुका छोराहरुको कुटपिटबाट अग्रिसाईर कृष्णासवरन गाउँपालिका–४ का ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुट्यो । 

त्यसपछि उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका यादवका छोरा बरुणको सेतो नम्बर प्लेटको १ ब १०६९ नम्बरको सरकारी मोटरसाइकल चोरी भएको हो । सडक डिभिजन कार्यालय, विराटनगरका सबइञ्जिनियर उनले कार्यालयको मोटरसाइकल प्रयोग गर्दै आएका थिए ।

केही वर्षयता मोटरसाइकल चोरीमा गिरोहको सक्रियता बढ्दै गएको पाइन्छ । मोटरसाइकल चोरीका घटना हवात्तै बढेको अनुपातमा प्रहरीले चोरीमा संलग्न गिरोह पक्राउ पर्न सकेको देखिँदैन । 

सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको मोटरसाइकल, स्कुटर हराउनु वा चोरी हुनु स्वाभाविक पनि हो । तर, पछिल्लो समय आफ्नो घर तथा निवास हाताभित्र गेटमा ताला लगाएर सवारीसाधन लक गरेर राख्दा समेत चोरिएको पाइएको छ । 

अर्कोतर्फ, एक ठाउँबाट चोरिएका मोटरसाइकल र स्कुटर गिरोहले विभिन्न जिल्ला पुर्याउने हुँदा ती सवारीसाधन कहाँ गए ? भन्नेबारे नै प्रहरी अन्योलमा देखिन्छ । चोरिएका अधिंकाश सवारीसाधनको नम्बरप्लेट परिवर्तन गरेर प्रयोग गरेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

नौ महिनामा साढे तीन हजार सवारीसाधन बेपत्ता

नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्षको पुस महिनासम्म तीन हजार पाँच सय २३ वटा सवारीसाधन हराएका छन् । 

तीमध्ये तीन हजार दुई सय ८९ वटा दुई पाङ्ग्रे र १३ वटा चार पाङ्ग्रे हुन् । हराएकामध्ये सात सय २१ वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधन प्रहरीले फेला पारेको छ । 

त्यस्तै, पछिल्लो पाँच वर्षको अवधिमा १८ हजार सवारीसाधन हराएको उजुरी प्रहरीमा परेका छन् । त्यसमध्ये १७ हजार छ सय ६२ वटा दुई पाङ्ग्रे र तीन सय ३८ वटा चार पाङ्ग्रे सवारीसाधन हराएको विवरणमा उल्लेख छ । 

सोही अवधिमा पाँच हजार दुई ९६ वटा दुई पाङ्ग्रे र ३० वटा चार पाङ्ग्रे सवारीसाधन पनि प्रहरीले फेला पारेका छ । 

कुन वर्षमा कति सवारीसाधन चोरी ?

तथ्याङ्कअनुसार गत वर्ष सबैभन्दा धेरै सवारीसाधन हराएको थियो । गएको वर्ष चार हजार नौ सय ६९ वटा सवारीसाधन हराएको प्रहरीले जनाएको छ । तीमध्ये चार हजार आठ सय ७८ दुई पाङ्ग्रे र २८ चार पाङ्ग्रे सवारीसाधन हुन् ।

त्यस्तै, आर्थिक वर्ष २०७८÷०७९ मा चार हजार एक सय ६७ वटा सवारीसाधन हराएका थिए । तीमध्ये चार हजार एक सय दुई पाङ्ग्रे र २१ चार पाङ्ग्रे रहेको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा तीन हजार एक सय ७९ दुई पाङ्ग्रे र ११ चार पाङ्ग्रेसहित तीन हजार ८४ वटा सवारीसाधन हराए । आर्थिक वर्ष २०७६÷०७७ मा दुई हजार पाँच सय ९७ दुई पाङ्ग्रे र आठ चार पाङ्ग्रेसहित दुई हजार छ सय ८५ वटा सवारीसाधन हराएका थिए । 

आर्थिक वर्ष २०७५÷०७६ मा भने दुई हजार नौ सय आठ दुई पाङ्ग्रे र नौ चार पाङ्ग्रेसहित दुई हजार नौ सय ९५ वटा सवारीसाधन हराएको अभिलेखमा उल्लेख छ । 

महिला चोरको बिगबिगी

प्रहरीले चालु आर्थिक वर्षको पुस महिनासम्म सवारीसाधन चोरीको आरोपमा चार सय १७ जनालाई नियन्त्रणमा लिएको छ । 

त्यसमध्ये दुई पाङ्ग्रे सवारीसाधन चोरीको आरोपमा तीन सय ७२ जना पुरुष पक्राउ पर्दा चार पाङ्ग्रे सवारीसाधन चोरीको आरोपमा सात पुरुष र ३८ महिलासहित ४५ जना समातिएका छन् । 

त्यस्तै, सवारीसाधन चोरीको आरोपमा पाँच वर्षको अवधिमा तीन हजार एक सय ९१ जना पक्राउ परेका छन् । त्यसमध्ये दुई पाङ्ग्रे सवारीसाधन चोरीको आरोपमा दुई हजार सात सय पाँच पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता, चार पाङ्ग्रे सवारीसाधन चोरीको आरोपमा ३५ पुरुष र चार सय १३ महिलासहित चार सय ४८ जना समातिएका छन् । यसले सवारीसाधन चोरीमा महिलाको समेत संलग्नता बढ्दै गएको देखिएको छ । 

ट्राफिक प्रहरीको ‘टीएसयु’ प्रयास

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठ हराएका सवारीसाधनको खोजतलास गर्न कार्यालयले विशेष अभियान सञ्चालन गर्दै आएको दाबी गर्छन् । 

उनका अनुसार त्यस्ता सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले ‘टीएसयु’ सञ्चालन गरेको छ । जसको अर्थ हो, टीम सपोर्ट युनिट । युनिटमा आबद्ध प्रहरी अधिकृतहरुले सवारीसाधन चोरीका घटनाबारे अनुसन्धान एवम् खोजतलास गर्ने उनले बताए । 

प्रवक्ता श्रेष्ठका अनुसार चोरिएका अधिंकाश सवारीसाधन एक जिल्लाबाट अर्को जिल्लामा लगेर नम्बर प्लेट परिवर्तनपछि प्रयोग गर्ने वा सस्तोमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । 

त्यस्तै, उपत्यकाबाट चोरिएका सवारीसाधन काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायत स्थानसम्म पुर्याउने गरिएको उनले बताए । चार पाङ्ग्रेको तुलनामा दुई पाङ्ग्रे सवारीसाधन धेरै चोरी हुने गरेको समेत पाइएको छ । ‘मोटरसाइकल र स्कुटर चोर्न र लुकाउन सजिलो हुने हुँदा यस्ता सवारीसाधन चार पाङ्ग्रेको तुलनामा धेरै हराउने गरेको छ ।

कतिपय सवारीसाधन घरभित्र पार्किङ गरेर वा लक लगाएर राख्दा पनि चोरी भएको भन्दै प्रहरीमा उजुरी पर्ने गरेको सन्दर्भमा उनले थपे, ‘अहिले गिरोहहरुले लक तोडेर पनि चोरी गर्ने गरेको पाइएको छ । अर्कोतर्फ घरभित्र गेट राम्ररी बन्द नगरी राख्दा पनि चोरी हुने गरेको छ ।’ 

कतिपयले घरभित्र सवारीसाधन राखेपनि कम्पाउण्ड वा गेट नहुने हुँदा चोरी हुने गरेको उनको भनाई छ । सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेक लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न समेत उनले अनुरोध गरे । 

प्रवक्ता श्रेष्ठले मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पाकिङ नगर्न र सवारीसाधन हराएमा तत्काल ट्राफिक प्रहरी वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन समेत आग्रह गरेका छन् ।

टिप्पणीहरू