श्रीपञ्चमी, वसन्त पञ्चमी र सरस्वती पूजा (फोटो फिचर)

श्रीपञ्चमी, वसन्त पञ्चमी र सरस्वती पूजा (फोटो फिचर)
सुन्नुहोस्

आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । आजका दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आरधना गरी मनाईंदै छ । 

सूर्य उत्तरी गोलार्धमा लागेकाले दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । 

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि मान्छन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामकी देवीको ’सरस्वती कवच’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको कथन पनि व्याप्त छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ । यसकारण आजैको दिन विद्यालय नपठाइएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्यामा पारंगत हुने विश्वास रही आएको छ । आज बिहानैदेखि राजधानीका स्वयम्भूलगायत अन्य सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

विद्यालयहरुमा पनि सरस्वती पूजाको विशेष कार्यक्रम आयोजना गरिएको छ ।


 

टिप्पणीहरू