डा. सन्दुकको कर्मथलोसँग दुखेसो

डा. सन्दुकको कर्मथलोसँग दुखेसो

तिलगंगा आँखा अध्ययन केन्द्रलाई आस्था एवं विश्वासको धरोहर ठानेको थिएँ । आफन्त र साथीहरूलाई आँखाको समस्या भएको थाहा पाउनेबित्तिकै जति लामो समय पर्खनुपरे पनि सिफारिस गर्ने संस्था नै यही थियो भने डा. सन्दुक रुइतप्रति अथाह विश्वास थियो । यति प्रगाढ आस्था र ममता भएको संस्थाप्रति गुनासो गर्नुपर्दा अत्यन्त दुःख लागेको छ :

मेरो बायाँ आँखामा मोतिबिन्दु भएकोले ३ वर्ष पहिले करिब ११ महिना पर्खेर डा. रुइतका हातबाटै शल्यक्रिया गराएको थिएँ, त्यसमा खासै समस्या देखिएन, चाँडै ठीक भयो । दायाँ आँखामा पनि मोतिविन्दु भएकोले असार २५ गते शल्यक्रिया गरियो, एक घण्टापछि फलोअपका लागि सबै जनालाई आइ केयर क्लिनिक नक्साल नागपोखरी आउन परामर्श दिइँदा मैले स्वास्थ्य बिमा गरेकालाई के गर्ने भनेर सोधें, जवाफमा सबै जना उहीं आउने भनियो । 

आइ केयर क्लिनिकका कर्मचारीले काउण्टरमा बोलाइ रु. ६०० मागे । मैले बिमितले पनि पैसा तिर्नुपर्छ र भनी ३ पटक सोधनी गर्दा ती कर्मचारीले तु. पैसा बुझाउन आदेश दिए ।

एक महिनापछि यहीं आउने अप्वाइन्टमेन्ट आदेश दिइयो, मैले तिलगंगा जान मिल्दैन र ? भनी प्रश्न गर्दा क्लिनिकमै आउन उर्दी जारी गरियो । दिएको दिनमै आइ केयर क्लिनिक पुग्दा काउण्टरमा फेरि रु.७०० ।- माग गरे, एक महिनामै रु. १०० ।- बृद्धि भएछ । त्यस दिन डा. सन्दुक रुइतले फलोअप गरी औषधि लेख्दै अब ६ महिनापछि भेट्ने भन्नुभयो, त्यसै क्लिनिकमा समय ठ्याक्क मिल्दोरहेछ, आइ केयर क्लिनिकमा आगामी वैशाखको समय पाएको छु, तर तिलगंगामा भने ६ महिनाको अप्वाइन्टमेन्ट लिन सकिएको छैन । यता मेरो शल्यक्रिया गरेको आँखा निको भएको छैन, त्यसैले डा. रुइतलाई अप्वाइन्टमेन्टका लागि दिइएको फोन नं मा सम्पर्क गर्दा चैतमा फोन गर्न भनिएको छ । 

मेरो आँखाको बायाँपट्टि बिझाउन छोडेन, अनि बाध्य भएर डा. रुइतलाई भेट्ने धोको हराएपछि डा. दिप्ती प्रधानसँग समय मिलाई भेट्न गएँ, उहाँले एकथरी औषधि ३ हप्ता र अर्कोथरी ३ महिना राख्ने सुझाव दिनुभयो, त्यसबाट पनि निको नभएपछि पुनः तिलगंगा आँखा अध्ययन केन्द्रमै फोन गरेर मलाई निको नभएको गुनासो गरेपछि पुस २६ गते शुक्रवार डा. सन्दुककै टिमका चिकित्सकलाई देखाउने सुझाव पाई प्रदत्त समयमै त्यहाँ पुगें, कोठा नं.९८ मा काम सकेपछि २०३ मा पठाइयो, त्यहाँ परीक्षण सकिएपछि २०६ मा गइयो ।

कोठा नं. २०६ मा अत्यन्त भद्रगोल, त्यहाँका कर्मचारीको रुखो बोली, क्रमैसित गरिनुपर्नेमा मनपरी आफ्ना र भनसुन गर्नेलाई छिटो तर मलगायत अन्यलाई लामो समय कुराइयो । बल्लतल्ल परीक्षण सकेपछि कागजात कोठा नं. २०२ को अगाडि आउँछ, त्यहीं कुर्न भनी चर्को स्वरमा आदेश दिइयो भने त्यहाँ जम्मा भएका कागजात तलका माथि र माथिका तल गर्ने काममा सुरक्षाकर्मीले पनि सघाए । क्रम मिचेको प्रष्ट प्रमाणसहित विवाद गर्नुप¥यो । अनि मात्र कोठा नं. २०३ मा बसेकी महिला चिकित्सकबाट औषधि लेखेर सेकाइसमेत गर्ने सुझावसहित घर फर्कें । के डा. सन्दुक रुइतका बिरामीलाई समस्या परेको बेला पनि उहाँलाई भेट्न ६ महिना वा १ वर्ष नै कुर्नुपर्ने हो ?

तिलगंगा आँखा अध्ययन केन्द्रमा मलगायत धेरै बिरामीलाई लिएर स्वयंसमेत गएको छु, तर २६ गतेका दिन कोठा नं. २०६ र २०२÷२०३ मा व्यहोर्नुपरेको भद्रगोल र अमानवीय व्यवहार कहिल्यै अनुभव गर्नुपरेको थिएन । त्यसकारण आस्था र विश्वासको धरोहर यस संस्थानको इज्जत नगुमोस् भनेर यति लेख्न बाध्य भएको छु । 

– गंगाराज अर्याल, ग्वार्को, ललितपुर, स्वास्थ्य सेवा निर्देशक (निवृत्त), सम्पर्क नं. ९८६९१३३३९१

 

टिप्पणीहरू