व्यवसायीको घरमा मन्त्रीसँग भलाकुसारी

व्यवसायीको घरमा मन्त्रीसँग भलाकुसारी

कृषिमन्त्री चितवन आएको मौकामा यहाँका व्यवसायीहरुले प्रत्यक्ष भेटेर भलाकुसारी गर्ने अवसर पाए । कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसाल हालै केही दिनअघि राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रमको उद्घाटन गर्न चितवन आएका थिए । सो अवसरमा यहाँका किसान तथा सम्पूर्ण व्यवसायीहरुको आफ्नै साझा घर उद्योग वाणिज्य संघ–चितवनमा मन्त्रीलाई निम्त्याएर कृषि क्षेत्रको अवस्थाबारे छलफल गरिएको थियो । वर्तमान अवस्थामा कृषि क्षेत्रको सुधारका लागि आवश्यक कामहरु सम्बन्धमा मन्त्रीको ध्यानाकर्षण गराइयो । 

कृषिजन्य उत्पादनको बजारीकरणको अभाव एकातिर छ भने माछा, मासु तथा पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदासमेत भारतीय उत्पादनले विस्थापित गरिदिँदा नेपाली किसान तथा कृषिव्यवसायीहरुमा चरम निराशा छ । कृषक र कृषिसम्बद्ध उद्यमशिलता विकासको लागि चितवनका व्यवसायीहरुबाट कृषिमन्त्रीलाई ज्ञापनपत्र÷मागपत्र बुझाइएको छ ।

सिँचाइ सुविधाको तीव्र र सघन विस्तार, भू–उपयोग नीतिको प्रभावकारी कार्यान्वयन, उन्नत बीउबिजन, रासायनिक मल तथा आधुनिक प्रविधिको अवलम्बन, अर्गानिक कृषि उत्पादन र प्रशोधनमा जोड दिँदै कृषिको आधुनिकीकरण, व्यवसायिकरण गर्नेगरी योजनाबद्ध रुपमा आयोजना तय गरी कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । समग्र कृषि विकासका लागि कृषि अनुसन्धान, कृषि प्रसार र कृषि शिक्षाको सुविधा एकैथलोबाट उपलब्ध गराउनुपर्ने, सबै स्थानीय तहमा कम्तीमा पनि एक कृषि उपज संकलन केन्द्र, ग्रेडिङ र प्याकेजिङ केन्द्र सञ्चालनमा ल्याई बजारीकरणमा सहयोग पु¥याउनुपर्ने माग व्यवसायीहरुले गरेका छन् ।

अवैध रुपमा विदेशबाट अस्वस्थ माछा आयात हुने कार्यलाई अविलम्ब रोकी नेपाली माछाको प्रवद्र्धन गर्न तथा नेपालको कुखुरापालन क्षेत्रको समग्र विकासका लागि राष्ट्रिय पोल्ट्री नीति घोषणा भएतापनि सो अनुसार कार्यक्रम अगाडि बढाउन नसकेको अवस्थामा तत्कालै पोल्ट्री विकास बोर्ड गठन गर्न व्यवसायीहरुले मन्त्रीको ध्यानाकर्षण गराए । यसैगरी, उपभोक्ताहरुलाई स्वस्थकर मासु बिक्री–वितरण गर्न, गराउन निश्चित मापदण्ड र निश्चित क्षेत्र तोकी वैज्ञानिक पशुपक्षी वधशाला निर्माण गर्ने कार्यका लागि आवश्यक पहल गरिदिन मन्त्रीसमक्ष आग्रह गरियो । जडीबुटी लगायत वनमा आधारित हरित उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा पनि व्यवसायीहरुको जोड छ ।

वैदेशिक रोजगारबाट फर्किएका दक्ष तथा अर्धदक्ष कामदारलाई कृषि कर्मतर्फ आकर्षित गरी सरकारले बिउपुँजी उपलब्ध गराउनुपर्ने भन्दै उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनको पहाडी भेगमा कृषिक्षेत्रको विविधिकरण गर्दै पहाडमा उत्पादन हुने नगदे फलफूल जस्तै अलैंची, एभोकाडो, ओखर, किबी, चिया, ड्रागन फ्रुट र कागती जस्ता बहुमूल्य फलफूल उत्पादनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम सञ्चालन गरिनुपर्ने विषयमा पनि मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

चितवनमा मह उत्पादनको अवस्था परिणामात्मक रुपमा राम्रो रहेको तर बजारीकरणको समस्याका कारण मह स्टकमा रहिरहेकोले यसको बजारीकरण र बिक्री वितरणमा सहजीकरण गर्न जरुरी रहेको बताइएको छ । फलफूल तथा तरकारीको पर्याप्त उत्पादन भएको समयमा पनि बजार व्यवस्थापनको समस्या रहेकोले यसलाई सम्बोधन गर्न व्यवासायीहरुले भनेका छन् । दुग्ध उत्पादक किसानहरुको दूध बिक्री नहुने र बिक्री भएको अवस्थामा समेत दूधको मूल्य दुग्ध संकलन केन्द्रबाट नपाउने तथा उपयुक्त नेटवर्कको समेत समस्या भएकोले यसलाई पनि सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताए । कृषकहरुले समयमै बीउबिजन तथा रासायनिक मल नपाउने समस्या रहेको भन्दै देशमै मल कारखाना सञ्चालनका लागि आवश्यक कार्य अगाडि बढाउन मन्त्रीलाई आग्रह गरियो । 

चितवन जिल्लामा तरकारी जोन, मौरी जोन, केरा जोन र धान जोन स्थापना भई सञ्चालन भइसकेको छ । आगामी दिनमा उत्पादन र उत्पादकत्व वृद्धि हुने खालको उत्पादन लिई अन्य जोन स्थापना गर्दै जानुपर्ने एवम् ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमलाई चितवनमा नयाँ उत्पादनसहित निरन्तरता दिनुपर्ने विषय पनि व्यवसायीहरुले मन्त्रीलाई अवगत गराए । 

चितवन पुष्पखेती, च्याउखेती र अण्डा उत्पादनमा समेत अग्रणी हुन लागेकोले कृषकलाई प्रोत्साहन गर्दै बजार व्यवस्थापनमा सहयोग गर्न माग गरिएको छ । कृषि क्षेत्रमा समय–समयमा नयाँ समस्या र रोग थपिँदै जाने हुँदा योग्य र दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्नेहुनाले जिल्लास्थित कृषि ज्ञान केन्द्र, कृषि सेवा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय जस्ता सरोकारवाला निकायमा दक्ष जनशक्ति थप गर्नुपर्ने जनाउँदै चितवनको सवालमा अत्यावश्यक देखिएकोले कर्मचारी यथासक्य छिटो थप गर्न भनिएको छ । 

सीमा र सीमाक्षेत्र वरपर पर्याप्त र गुणस्तरीय क्वारेन्टाइनको व्यवस्था नहुनाले नेपाली उपभोक्ता गुणस्तरीय उपभोग्य वस्तुबाट वञ्चित भएका छन् भने अव्यवस्थित रुपमा आयात गर्दा राष्ट्रिय उत्पादन निरुत्साहित हुन पुगेकोले उपयुक्त स्थानहरुमा क्वारेन्टाइन सेवा सञ्चालन गरिनुपर्ने सवालमा पनि व्यवसायीहरुले मन्त्रीको ध्यानाकर्षण गराए । केही तरकारी तथा फलफूलजन्य उत्पादनहरुमा मुअकर लगाउने व्यवस्था गरिएकोले उक्त व्यवस्था हटाउनसमेत माग गरिएको छ ।

चितवनका कृषक तथा व्यवसायीहरुको उपर्युक्त मागका सम्बन्धमा सकारात्मक रुपमा प्रस्तुत हुँदै कृषिमन्त्री भुसालले समस्या समाधानका लागि आफू र आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने विश्वास दिलाएको उवासंघ चितवनका कार्यकारी निर्देशक नीलबहादुर केसी ‘निलु’ले हामीलाई जानकारी दिए ।

टिप्पणीहरू