युट्युब, युट्युबर र सञ्चारकर्म

युट्युब, युट्युबर र सञ्चारकर्म

संसारको समाचार माध्यम आज संंकटमा पर्दै गएको छ । सूचना प्रविधिमा बढ्दो नयाँ नयाँ विकास र आविष्कारलाई पछ्याउन नसक्दा यी माध्यम पछि पर्दैछन् । यसको साथमा विकसित सामाजिक सञ्जालको प्रभावले समाचार माध्यमको प्रभावकारितालाई घटाउँदै छ । सामाजिक सञ्जाललाई नै समाचार माध्यम र त्यसबाट सम्प्रेषण हुने सामग्रीलाई समाचार ठान्ने अडियन्सको बुझाइका कारण पत्रकारिताप्रतिको विश्वासमा प्रश्न उठ्न थालेको छ । सामाजिक सञ्जालले दिने सामग्रीमा कुनै गेटकिपिङ नहुने हुँदा जस्तो पायो त्यस्तै सामग्रीले समाजमा भ्रम सिर्जना गर्ने गरेको देखिन्छ ।

यस्तो समस्या संसारभर नै छ तर पनि नेपालमा अन्यभन्दा पनि युट्युब सामाजिक सञ्जालको प्रभावले के पत्रकारिता हो, के होइन भन्ने अन्योल सिर्जना गरेको छ । बच्चादेखि बृद्धसम्ममा युट्युबको आकर्षण बढ्दैछ । गैरपत्रकारिता क्षेत्रमा समेत यसको आकर्षण र प्रभाव बढ्दै गएकाले यसलाई आगामी दिनमा पनि सबैले स्वीकार्नै पर्ने स्थिति छ । यही भएर होला, सरकारले यति पछि आएर सामाजिक सञ्जाल प्रयाोग सम्बन्धी निर्देशिका जारी गरेको छ भने कानुुन बनाउने तयारी पनि चल्दैछ ।

के हो युट्युब ? 

युट्युब फेसबुक, ट्वीटर, इन्स्टाग्राम, विच्याट, भाइबर, ह्वाट्स एप आदि जस्तै एक सामाजिक सञ्जाल हो । खासगरी यो ‘अनलाइन सेयरिङ प्लेटफर्म’ वा ‘भिडियो होस्टिङ सेयरिङ सर्भिस’ हो । यसले युट्युब प्रिमियम, युट्युब म्युजिक, युट्युब टिभी, युट्युब किड्स उत्पादन गर्दछ । सन् २००५ फेब्रुअरी १४ मा चाड हर्ली स्टिभ चेन, जावेद करिमले स्थापना गरेको युट्युबलाई २००६ मा गुगलले १.६५ बिलियन डलरमा खरिद गरेको थियो । यसको कार्यालय अ मेरिकाको क्यालिफोर्नियाको सान बरुनोमा रहेको छ । यसरी १९ वर्षअघि अमेरिकामा स्थापित युट्युब च्यानलको यतिबेला नेपालमा चर्चा गर्नुपरिरहेको छ । विश्वमा झैँ नेपालमा पनि यसका लाखौँ प्रयोगकर्ता छन् । यसले सबैलाई नजिक हुन बाध्य पारेको छ । यतिसम्म समाचार माध्यमसमेत आफ्ना सामग्री युट्युबमार्फत बिकाउनै पर्ने फन्दामा परेका छन् । जुनसुकै व्यवसायी, पेशाकर्मीले आफ्नो व्यापार, व्यवसायको प्रचार, प्रसार, बजार विस्तार, बिक्री, वितरणका लागि यसकै सहारा लिनुपर्ने अनिवार्यता बनेको छ । 

के राम्रो, के नराम्रो ? 

वर्गिय दृष्टिकोणबाट हेर्ने हो भने यो सामान्य मानिसहरूको माध्यम हो । किनकि मूलप्रवाहका समाचार माध्यममा कहिल्यै पहुँच नपाउने सर्वसाधारणले यसमा सजिलै पहुँच पाउँछन् । लामो समयसम्म हराएका मानिसलाई यसले भेट्टाएको छ । नयाँ नयाँ प्रतिभाहरूलाई चर्चामा ल्याएको छ । कतिपय दुःखी, पीडितलाई राहत दिलाएको छ । भुइँ मानिसका पीरमर्का उजागर गरेर शासक, प्रशासकको ध्यान खिचेको छ । दबाब दिन मद्दत गरेको छ । कतिपय मानिस स्वरोजगार भएका छन् । यो राम्रो पक्ष हो ।

आफैँ प्रेस ज्याकेट, कार्ड र झोला बनाएर व्यक्तिको घर, किचन, बेड रुमसम्म पस्ने काम गरिरहेका छन् ।

सरकारले कानुन ल्याउने तयारी गरे पनि अन्य सामाजिक माध्यमलाई झैँ युट्युब र युट्युबरहरूलाई राज्यले चिनेको छैन । विद्युतीय कारोबार ऐनलाई आधार मानेर विभिन्न नराम्रा प्रकरणमा यिनीहरूलाई कानुनी नियमनको दायरामा ल्याउन सकिने भए पनि राज्यले यसप्रति गहिरो ध्यान दिएको देखिएको छैन । किनकि धेरैजसो युट्युबरले नेपालको संविधान, २०७२ मा मौलिक हकका रूपमा लिपिवद्ध गरिएको गोपनीयताको हकविपरीत श्रीमान्–श्रीमतीका घरको विवादलाई के के न ठानेर सम्प्रेषण गर्ने गरेको देखिन्छ ।

लैंगिक, धार्मिक, क्षेत्रीय, व्यक्तिगत, जातीय रूपमा नकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई सुद्दो न बुद्दो रूपमा उछालेर र अश्लील विषयलाई मनोरञ्जनका नाममा कोट्याएर प्रवाह गर्ने गरेको पाइन्छ । धेरैजसो युट्युबरले आफूलाई पत्रकारको हवाला दिएर वास्तविक पत्रकार र पत्रकारिता पेशाकै बद्नाम गरिरहेका छन् । आफैँ प्रेस ज्याकेट, कार्ड र झोला बनाएर प्रयोग गरी पत्रकार भन्दै भ्रम छरिरहेका छन् । व्यक्तिको घर घर, किचन किचन, बेड रुम बेड रुमसम्म पसी सामाजिक द्वन्द्व झन् चर्काउने काम गरिरहेका छन् । कतिपय युट्युबका कारण राजनीतिक, आर्थिक, लैङ्गिक, व्यापारिक, क्षेत्रीय, जातीय रूपमा असर परेको छ । 

के यो पत्रकारिता हो ?

युट्युबकारिताबारे विज्ञ, पत्रकारबीच एउटै मत छैन । कोही यसलाई पत्रकारिता नै मान्नहुन्न भन्छन् भने कोही सबै युट्युबलाई एउटै डालोमा हालेर व्यवहार गर्नहुन्न भन्छन् । आजको युगमा युट्युबलाई नकार्न नसकिने बताउँदै तिनीहरूलाई विस्तारै कानुन र आचारसंहिताको दायरामा ल्याउनुपर्ने भनाइ राख्छन् । यद्यपि युट्युबमार्फत् गरिने कार्य एक किसिमको सञ्चार हो । यसलाई नकार्न सकिँदैन । तर संसारले युट्युबमार्फत गरिने सञ्चार कर्मलाई पत्रकारिता भनेर परिभाषित गरेको छैन । नेपालमा यसलाई हेर्ने दुईपक्षीय धारणा आइरहेको छ । यसलाई पत्रकारिता भन्नुपर्छ भन्ने एउटा मत छ भने अर्काे पक्ष यसलाई पत्रकारिता मान्न तयार छैन । त्यसैले यस विषयमा अझै छलफल हुनुपर्छ ।

समाचारमाध्यमले झैँ युट्युबले पनि रिपोर्ट/अन्तर्वार्ता प्रसारण गरे पनि त्यसमा पत्रकारिताको निश्चित मूल्य मान्यतामा ध्यान दिएको देखिँदैन । समाचार सङ्कलन, लेखन/पुनर्लेखन, सम्पादन र सम्प्रेषण, तथ्य, सन्तुलन, विश्वसनीयतामा ध्यान दिएको देखिँदैन । सैद्धान्तिक रूपमा यो पत्रकारिता नभई लिंक सर्भिस हो । अब सर्वप्रथम युट्युबको प्रकृति र प्रकार छुट्याई अघि बढ्नुपर्छ । दुवै युट्युबरलाई कानुनले बाँधी राजस्व संकलन गर्ने वातावरण तय गरिनुपर्छ । पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबलाई काउन्सिलमा सूचीकरण गराई पत्रकार आचारसंहिता पालना गर्न लगाउनुपर्छ । यही मूल्य मान्यतामा रहेर सञ्चार कार्य गर्ने युट्युबरलाई पत्रकारिताको दायराभित्र ल्याउनुपर्छ । युट्युबमात्र चलाउने र पत्रकारिताका लागि युट्युब चलाउनेबीच भिन्नता छुट्याउनुपर्छ ।

पत्रकारिता र पत्रकार आचारसंहितासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराउनुपर्छ । तर यस विषयमा राज्यको पनि चिन्ता बढ्न थालेको छ । यही भएर नेपाल सरकारले आव .०८०/८१ मा युट्युब व्यवस्थापनका लागि प्रेस काउन्सिल नेपाललाई २५ लाख रुपियाँ अनुदान दिएको छ । यही आधारमा काउन्सिलले केही दिनअघि मात्रै ४० भन्दा बढी युटुयबरलाई सहभागी गराएर एउटा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । यदि यस्तो उद्देश्य बोकेका युट्युबको नियमन काउन्सिलले गर्ने हो भने छिटो निर्णय हुनुपर्छ । पत्रकार आचासंहिता २०७३, (पहिलो संशोधन २०७६)को १४ बुँदामा काउन्सिललाई प्रवृत्तिगत अध्ययन गर्ने आधार भए पनि यो नै पर्याप्त आधार होइन ।

अन्त्यमा 

युट्युब एउटा कम्पनीअन्तर्गत रहेको माध्यम हो । नेपाल सरकारले यसको व्यवस्थापन गर्न बजेटसहित आफ्ना्े कार्यक्रममा राख्दै आएको छ । अन्य सामाजिक माध्यमलाई सम्बोधन नगरी एउटा माध्यमलाई मात्रै कार्यक्रममा पार्न नहुने सुझाव पनि आइरहने गरेको छ । त्यसैले अब युट्युबलाई मात्रै कार्यक्रममा समावेश गर्ने हो कि अन्य सामाजिक सञ्जालको विषयमा पनि सोच्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्छ । युट्यबको मात्रै व्यवस्थापन हो भने पनि स्पष्ट हुनुपर्छ । काउन्सिलले पत्रकारिताको शैलीमा सञ्चार कर्म गर्ने युट्युबको अनुगमन गर्ने हो पनि बेलैमा निर्णय हुनुपर्छ । युट्युबरलाई पत्रकार भन्ने कि नभन्ने भन्ने विषयमा पनि समयमा नै निर्णय हुनुपर्छ । 
 

टिप्पणीहरू