हजार करोडको चलचित्र बनाउँदै राजामैली, महेश बाबुले पारिश्रमिक नलिने

हजार करोडको चलचित्र बनाउँदै राजामैली, महेश बाबुले पारिश्रमिक नलिने

एउटा चलचित्र निर्माणको घोषणाले बलिउडमा चर्चा चुलिएको छ । एसएस राजामौलीले आफ्नै निर्देशनमा बनाउन लागेको चलचित्रको बजेटलाई लिएर बलिउड गर्माएको हो । 

चलचित्रको लगानी बजेट र अभिनेताको कारण एकाएक राजामौली समेत चर्चामा आएका छन् । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार एक हजार करोड लगानी गरेर चलचित्र बनाउन लागिएको हो । 

घोषणा गरेअनुसार नै निर्माण सम्पन्न भए भारतीय चलचित्र इतिहासमै यो सबैभन्दा महँगो चलचित्र हुनेछ । यसअघि निर्माणाधीन 'रामायण'लाई सर्वाधिक महंगो बजेटको चलचित्रको रुपमा चित्रण गरिएको थियो । 

निर्माणको घोषणा मात्रै भएको चलचित्रले यति धेरै चर्चा पाउनुको अर्को कारण हो, महेश बाबु । उनले लिड रोल गर्दैछन् । रोचक प्रसंग के छ भने, महेशले यस चलचित्रबाट कुनै पनि पारिश्रमिक नलिने बताएका छन् । अर्थात् रिलिज भएपछि मात्र चलचित्रको व्यापार हेरेर पारिश्रमिक लिने सम्झौता भएको बताइएको छ । 

दक्षिण भारतीय चलचित्रमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताहरुको सूचीमा महेश अग्रपंक्तिमा आउछन् । तर, उनले राजामौलीको चलचित्रको लागि गरेको घोषणाले सबै हैरान छन् । बलिउडका चर्चित अनुहार शाहरुख खान, सलमान खान र आमिर खानसमेत राजमौलीको नयाँ चलचित्रको लागि उत्साहित रहेको समाचारहरुमा जनाइएको छ । 

त्यसो त, कमाईको हिसाबले भारतीय चलचित्रलाई पहिलोपल्ट हजार करोड क्लबमा प्रवेश गराउने पहिलो निर्देशक हुन्, राजामौली । 'मगधिरा'बाट उनले अभिनेता राम चरणलाई एउटा गतिलो हाइट दिए । 'बाहुबली'को पहिलो र दोस्रो च्याप्टरबाट प्रभासलाई अलग्गै पहिचान दिए । त्यस्तै, 'आरआरआर'बाट पुनः राम चरण र जुनियर एनटीआरलाई नयाँ उचाइ दिए ।

अब नयाँ बन्ने चलचित्रबाट पनि महेशले करिअरकै नयाँ स्वाद चाख्ने दर्शकहरुको अनुमान छ । चलचित्रकै लागि यतिबेला महेशले आफ्नो शरीर बनाइरहेका छन् । उनको शरीरको लागि एक जना विदेशी डाक्टर र फिट्नेस प्रशिक्षक नै जागिरमा राखिएको बुझिएको छ । 

राजामौली भने पिता तथा लेखक विजेन्द्र प्रसादेसँग पटकथा र संवादको फाइनल गरिरहेको बताइन्छ । यो चलचित्रलाई एक महाकाव्यको रुपमा निर्माण गर्ने राजामौलीको तयारी छ । आम मानिसको कल्पनाभन्दा टाढाको विषय र दृश्य निर्माण गर्न राजामौली निकै माहिर मानिन्छन् । यस चलचित्रमा पनि उनले कल्पनाभन्दा परका दृश्यहरु कैद गर्न प्रयास गर्ने बताइएको छ ।

हाललाई 'एसएसएमबी २९' राखिएको चलचित्रको नाम भने परिवर्तन हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू