नखाएको विष लाग्यो मलाई

नखाएको विष लाग्यो मलाई
सुन्नुहोस्

गत अंक प्रकाशित ‘अर्ब उठाउने मलेसियन सिण्डिकेटको कथा’ शीर्षकको समाचारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र मेरो नामसमेत मुछेर प्रस्तुत सामाग्री निराधार तथा कपोलकल्पित हो ।

मलेसिया जाने नेपाली कामदारसँग रकम उठाउने मामिलामा न पार्टी अध्यक्ष, न त मेरै कुनै भूमिका छ । उहाँ मलेसिया जानुभएको समयमा त्यहाँका गृहमन्त्रीसँग के–के छलफल भयो, त्यो मैले थाहा पाउने कुरा भएन । तर, उहाँ ‘फ्रि भिसा–फ्रि टिकट’ मा नेपाली कामदारलाई विदेश पठाउने कुराको पक्षपाती र त्यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा अडिग हुनुहुन्छ । उक्त भेटमा शायद त्यस्तै केही कुरा भएको हुनुपर्छ ।

हाम्रो समूहले सञ्चालन गरेको होटल अर्यालमा पार्टी अध्यक्षका निम्ति कुनै अलग्गै कार्यालय दिइएको कुरा पनि सत्प्रतिशत गलत हो । पार्टी र पार्टी अध्यक्षका विभिन्न कार्यक्रम त्यहाँ हुने गरेको छ । त्यसबापत पार्टी कार्यालयले नियमित रूपमा होटललाई बिलको भुक्तानी पनि दिइरहेको छ । आफ्नो आस्थाको पार्टी भएका कारण बिलमा सहुलियत दिने, पार्टी अध्यक्षका भेटघाटको कुनै कार्यक्रमलाई सहज बनाउनेजस्ता काम गरेकै हुँ । त्यसबाहेक समाचारमा उल्लेख भएजस्तो कुनै कार्यालय त्यहाँ छैन, अध्यक्षले त्यस्तो माग वा चाहना पनि राख्नुभएको छैन ।

व्यवसाय गर्ने क्रममा राज्यका सम्पूर्ण कानुन, करका दायित्व र श्रमिकको हितमा आँच पु¥याउने काम आजसम्म मबाट नभएको पनि स्पष्ट पार्दछु । मैले कहिल्यै पनि शक्तिकेन्द्र लगाएर राजश्व अनुसन्धानलाई प्रभावित पारेको छैन । यदि, गरिएको रहेछ भने पनि उक्त निकाय शक्तिकेन्द्रको प्रभावमा पर्छ र कर छल्नेलाई उन्मुक्ति दिन्छ भन्ने कुरामा मलाई विश्वास छैन ।

– वाइबी राई, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि., बालकुमारी, ललितपुर


 

टिप्पणीहरू