भारतीय महंगा कलाकार एउटै चलचित्रमा, रणवीर ‘राम’ र यश ‘रावण’ बन्दै

भारतीय महंगा कलाकार एउटै चलचित्रमा, रणवीर ‘राम’ र यश ‘रावण’ बन्दै
सुन्नुहोस्

बलिउड इतिहासमा पहिलो पटक सबैभन्दा महंगा कलाकारहरु एउटै चलचित्रमा देखिने भएका छन् । नितेश तिवारीले निर्देशन गर्न लागेको बहुप्रतिक्षित चलचित्र ‘रामायण’ मा सर्वाधिक पारिश्रमिक लिँदै आएका कलाकार फिचर्स हुन लागेका हुन् । 

चलचित्रमा ’राम’ को भूमिकामा रणवीर कपूर देखिँदैछन् । स्मरणरहोस्, उनको पछिल्लो चलचित्र ’एनिमल’ले नौ सय करोड भारतीय रुपैयाँ उठाएको थियो । यस चलचित्रको सफलतासँगै रणवीरले परिश्रमिक बढाएर ८० करोड पुर्याएका थिए । 

त्यस्तै ’रामायण’ मा सीताको भूमिकामा साइ पल्लवी देखिँदैछिन् । उनी पनि दक्षिण भारतीय चलचित्रकी चर्चित र महँगी अभिनेत्री हुन् । उनलाई ‘अर्गानिक हिरोइन’ को संज्ञासमेत दिने गरिन्छ । चार सय करोडमा निर्माण भएको उनको पछिल्लो चलचित्र ’पुष्पा २ः दी रुल’ प्रदर्शनको तयारीमा छ । 

चलचित्रमा ’रावण’ को भूमिकामा रकस्टार नामले चिनिने यश देखिँदैछन् । उनको पछिल्लो चलचित्र ’केजिएफ च्याप्टर २’ ले हजार करोडभन्दा बढी कलेक्शन गरेको थियो । अहिले पारिश्रमिक बढाएर उनले पनि ६० करोड पुर्याएका छन् । 

चलचित्रमा ’हनुमान’को भूमिका अभिनेता सनी देवलले निभाउँदैछन् । पछिल्लो चलचित्र ’गदर २’ ले करिब सात सय करोड कलेक्सन गरेपछि उनले पनि पारिश्रमिक बढाएर ४० करोड पुर्याएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

चलचित्रमा अभिनेता सनिका भाइ बबि देओल पनि देखिँदैछन् । उनले ’कुम्भकर्ण’को भूमिका निभाउने छन् । ’एनिमल’मा बबिको १५ मिनेट भूमिकाले दर्शकलाई रोमाञ्चक बनाएको थियो । मदिरा टाउकोमा राखेर नाचेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो । उनले पनि पारिश्रमिक २० करोड पुर्याएको बताइएको छ ।  

योसँगै रामायणमा अभिनेता विजय सेथुपति पनि जोडिएको खबर सार्वजनिक भएको छ । उनी रावणको भाई ’विविषण’को भूमिकामा देखिने बलिउड हंगामाले जनाएको छ । स्मरण रहोस्, उनको पछिल्लो चलचित्र ’जवान’ले ११ सय करोडभन्दा बढी कमाएको थियो । यससँगै उनले पनि पारिश्रमिक बढाएर ४० करोड पुर्याएका छन् ।

यसरी बलिउडका सर्वाधिक महंगा कलाकार सँगै फिचर्स हुँदा चलचित्रको लगानी बजेटबारे चासो बढेको छ । यस चलचित्रको लागि निर्माण पक्षले पाँच सय करोड लगानी गर्न लागेको पिंकभिल्लाले उल्लेख गरेको छ । तर चलचित्रका निर्माताहरुले भने लगानी रकम अझै बढ्न सक्ने संकेत गरेका छन् । 

भारतीय चलचित्रको इतिहासमा यति ठूलो रकममा निर्माण हुन लागेको ’रामायण’ पहिलो चलचित्र हुनसक्ने अनुमान छ । चलचित्रको शुटिङ मार्चको पहिलो हप्ताबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ । 

अहिले कलाकारहरु वर्कशप गरिरहेका छन् । चलचित्रको पोस्ट प्रोडक्सनका लागि मात्र निर्माण पक्षले डेढ वर्षको समय तोकेको छ ।

टिप्पणीहरू