तिब्बतमा नयाँ वर्ष, काठमाडौंमा हर्ष

तिब्बतमा नयाँ वर्ष, काठमाडौंमा हर्ष
सुन्नुहोस्

तिब्बती नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । तिब्बतीहरुले हर्षोल्लासका साथ मनाउने नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले हिजो भव्य सांस्कृतिक कार्यक्रम गरेर ‘चाइनिज तिबेतियन ल्होसार’ मनाएको हो । 

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा साँझ साढे ५ बजेदेखि शुरु भएको कार्यक्रममा चिनियाँ कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । त्यस्तै, उनीहरुले परम्परागत लोकनृत्य पनि प्रस्तुत गरेका थिए । 

आफ्नो मौलिक भेषभुषामा श्रृंगारिएका चिनियाँ कलाकारहरुले ‘रेशम फिरिरी’ गीत गाएका थिए । कार्यक्रममा चिनियाँ राजदूत छन सोङ्गसहित अन्य थुप्रै उच्च पदस्थहरुको सहभागिता थियो । त्यस्तै, बौद्ध धर्मावलम्बीहरु, नेपालका शेर्पा, गुरुङ्ग जातिहरुको कार्यक्रममा बाक्लो उपस्थिति थियो । आफ्नै भेषभुषामा सजिएका उनीहरु कार्यक्रममा रमाइरहेका थिए । 

कार्यक्रमपछि ‘डिनर’ को व्यवस्था पनि गरिएको थियो । यो वर्ष फेब्रुअरी १० देखि मनाइने तिब्बती नयाँ वर्षलाई ल्होसार पनि भनिन्छ । तिब्बतीहरुले १५ दिनसम्म नयाँ वर्ष मनाउने गर्दछन् । नयाँ वर्षको पहिलो दिन उनीहरु आफ्नै घरमा बस्छन् र धार्मिक गतिविधि गर्दछन् । 

दोस्रो दिन उनीहरु इष्टमित्र र साथीहरुसँग भेटघाट गर्न जान्छन् । तेस्रो दिन ल्हासाका बासिन्दाहरुले समूह समूह बनाएर पूर्वतिर पर्ने पाउ फिंग पर्वत र पश्चिमतिरको याउ वाँग पर्वतमा गएर पहाडी देवता र जल देवताको पूजा गर्दछन् । 

उनीहरुले नयाँ वर्षमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना पनि गर्ने गरेका छन् । नाच्न–गाउनमा माहिर उनीहरुले विविध सांस्कृतिक नाँच देखाउँछन् । त्यस्तै, घोडा दौड प्रतियोगिताको आयोजना पनि गरिन्छ । विशेषतः भारत, नेपाल, तिब्बत र भुटानमा तिब्बती नयाँ वर्ष मनाइन्छ ।

टिप्पणीहरू