महिलातिरै भुलेको राष्ट्रपति–पत्नीको मन

महिलातिरै भुलेको राष्ट्रपति–पत्नीको मन

‘हिक मेरो प्रिय, म तिमीलाई एक शब्द नबोली राति ओछ्यानमा जान सक्दिन । मलाई लाग्दै छ, मेरो एउटा हिस्सा तिमी बनिसक्यौ । हाम्रो सम्बन्ध निकै अघि बढिसक्यो । म हरेक मीनेट तिमीलाई नसम्झी बस्न सक्दिनँ । तिमीबिना म अधुरो छु ।’ – ईआर (मार्च ५, १९३३) अर्को दिन ‘हिक, प्रिय, आहा कति मीठो अनुभूति भयो तिम्रो आवाज सुनेर । यद्यपि, यसको अर्थ के हो बताउन यो आवाज अपर्याप्त थियो । रमाइलो के भयो भने ‘मलाई मन पर्छ’ सम्म पनि भन्न सकिन जुन म भन्न चाहन्थेँ तर सधैं सम्झनु कि म यो भन्न चाहन्थेँ अनि म सधैं तिम्रोबारे सोच्दै सुत्ने गर्छु ।’

राति ‘हिक प्रिय, दिनभर मैले तिम्रो बारेमा सोचें र अठोट गरें कि अर्को जन्मदिनमा म तिम्रो साथमा हुनेछु । आज राति तिमीलाई टाढा पाएँ । ओह ! तिम्रो शरीरलाई म मेरो हातले बेर्न चाहन्थें । म तिमीलाई नजिकबाट समाउन चाहन्थें । तिमीले दिएको औंठीले मलाई राहत पु¥याएको छ । म यसलाई हेर्छु र सोच्छु ‘उनले मलाई माया गर्छिन्, नत्र मैले यो लगाउने थिइन ।’ र, अर्को पत्रमाः ‘आज राति म तिम्रो छेउमा सुत्न सक्छु ? के म तिमीलाई काखमा लिन सक्छु ?’

‘म तिमीलाई गहिरो र नम्र माया गर्छु । अबको एक हप्ताभित्र फेरि हामी साथमै हुनेछौं । म बताउन सक्दिनँ कि तिमीसित बिताउने प्रत्येक मिनेट मेरा लागि अत्यन्त बहुमूल्य हुनेछ । भेट हुने कुरोले मात्रै पनि प्रफुल्लित बनिसकें । मैले यो लेखिरहँदा पनि तिम्रो फोटो हेर्दै छु । त्यो फोटोमा मलाई मन पर्ने अभिव्यक्ति छ, नरम र अलिकति सनकी छ तैपनि प्रत्येक अभिव्यक्तिलाई मन पराउँछु । आशीर्वाद छ प्रिय तिमीलाई । मायाको संसार !’– ईआर (फेब्रुअरी ४, १९३४)

‘मैले आज तिमीलाई पठाएको तारमा भनेको थिएँ – म हरेक वर्ष तिमीप्रति थप गर्व गर्छु । ५० वर्षपछि यति धेरै कुरा गर्न र तिमीले जत्तिकै राम्रो गर्न सिक्ने अरू कुनै महिलालाई चिन्दिनँ, माया । तिमीले आफूलाई जति बुझेकी छौ त्योभन्दा धेरै राम्री छौ, प्रिय । र, तिमी अझै पनि मैले संसारमा अरू कसैलाई गर्ने गरेको मायाभन्दा बढी मायालु छौ । जन्मदिनको शुभकामना !’ (८ अक्टोबर, १९४१)प्रेमले भरिपूर्ण यी पत्र कुनै पुरुषले उनकी पत्नी वा प्रेमिका वा कुनै प्रेमिकाले आफ्नो लोग्ने वा प्रेमीलाई लेखेका होइनन् । बरु एउटी महिलाद्वारा अर्की महिलालाई संबोधित हुन् ।

पत्रको तलतिर ‘ईआर’ लेख्ने अरु कोही नभएर अमेरिकी प्रथम महिला इलेनोर रुजबेल्ट हुन् । इलेनोर शारीरिक बिकलांगताको बावजुद अमेरिकाजस्तो महाशक्ति राष्ट्रको लगातार चार पटक राष्ट्रपति बन्न सफल फ्रान्कलिन डेलानो रुजबेल्टकी धर्मपत्नी थिइन् । रुजबेल्ट चार कार्यकाल राष्ट्रपति पद सम्हाल्ने त्यहाँको पहिलो र आजसम्मकै अन्तिम राष्ट्रपति थिए । यो अर्थमा इलेनोर पनि आजसम्मकै लामो समय प्रथम महिला बन्न सफल महिला हुन् । इलेनोर र रुजबेल्ट नातामा दाजु बहिनी पर्थे । प्रेमबिबाह भए पनि उनीहरूमा मेलजोल भने थिएन ।

रुजबेल्ट धेरै कामेच्छा राख्थे भने इलेनोर यो मामिलामा अलि ‘चिसो’ थिइन् । आफ्नो इच्छाविपरीत रुजबेल्टले १० वर्षको दौरान आफूलाई ६ सन्तानका आमा बनाइदिएपछि उनी झन् चिढिएकी थिइन् । नतिजा रुजबेल्ट इलेनोर आफ्नैलागि सहायिकामा नियुक्त युवती लुसी पेग मर्सरसँग लहसिन पुगे । ‘जस्तै जोखिमले पनि नभत्केको प्रेमिल जिन्दगी’ र ‘अमेरिकी एक मात्र त्यस्ता राष्ट्रपतिको प्रेमपूर्ण अन्तर्कथा’ (जनआस्था मंसिर १३ र २०, २०८०)लोग्ने आफ्नै सहायिकासित लहसिन पुगेको कारणले हो वा उनको जन्मजात जैविक विशेषताले, इलेनोरले महिलासित नै प्रेम गर्न पुगिन् ।

जसकारण इतिहासकारले उनलाई ‘द्विलिंगी’ महिलाको रूपमा चित्रित गर्ने गरेका छन् भने समलिंगी संगठनहरू त सहोदर नै मान्ने गर्छन् । त्यसो त उनको महिला मताधिकारवादीत्रय नान्सी कुक, मरियोन डेकरमान र एलिजाबेथ फिसर रिड, पत्रकार इस्थर लेपलगायतसित पनि ‘आत्मीय’ सम्बन्ध थियो । तर, यी सबैसितको भन्दा वरिष्ठ पत्रकार लोरेना हिककसितको उनको सम्बन्ध दुनियाँले थाहा पाउने गरी कायम भयो । उनी हिककलाई प्रेमपूर्वक ‘हिक’ भनेर संबोधन गर्न रुचाउँथिन् । माथि उल्लिखित प्रेमपत्र इलेनोरले हिकलाई नै लेखेकी हुन् । त्यो पनि दुई चारवटा होइन ३ हजार ३ सय यस्ता पत्र आदानप्रदान भएका थिए । यी पत्र सन् १९७८ मा नाटककार टेरी बाउमले फेला पारेकी थिइन् । ती पत्र रुजबेल्ट लाइब्रेरीमा १८ वटा बाकसमा राखिएको थियो । रोचक कुरो, कुनै कुनै पत्र त १५ पाना लामो थियो । टेरीले पछि पुस्तक पनि निकालिन् ‘HICKMA Love story, The Romanace of Lorena Hickok and Eleanor Roosevelt’

रोचक कुरो, जसरी रुजबेल्टको प्रेमिका बनेकी लुसीलाई भेटाइदिने कार्य स्वयं इलेनोरले गरिदिइन् त्यसरी नै इलेनोरकी प्रेमिका बन्न पुगेकी लोरेनालाई भेटाइदिने कार्य रुजबेल्टबाटै भयो । त्योबेला लोरेना एलिस ‘हिक’ हिकक प्रख्यात समाचार संस्था एपी (एसोसियटेड प्रेस) मा कार्यरत थिइन् । सन् १९२८ मा रुजबेल्ट न्युयोर्कको गभर्नर पदमा लड्दै थिए । गभर्नरको चुनाव लड्दै गर्दा नै उनलाई भावी राष्ट्रपतिको रूपमा हेरिन थालिसकेको थियो । देशको उदियमान नेताको अन्तर्वार्ता लिन एपीले लोरेनालाई खटायो । त्यसबेला उनको भेटघाट रुजबेल्टसित मात्र भयो । पछि सन् १९३२ मा रुजबेल्ट राष्ट्रपतिको उम्मेदबार बने । लोरेनाले एपीको सम्पादकलाई रुजबेल्टको चुनावी प्रचारको सम्पूर्ण रिपोर्टिङ गर्न आफूलाई खटाउन मनाउन सफल भइन् । यसरी चुनावदेखि राष्ट्रपतिको शपथग्रहणसम्मको करिब ४ महिना रिपोर्टिङ गर्दा रुजबेल्ट दम्पतीसित उनको निकै राम्रो सम्बन्ध बन्यो । यसबीच नै रुजबेल्टकी स्वकीय सचिब मिस्सी लेहण्डकी आमाको निधन भयो र अन्तिम संस्कारमा भाग लिन न्युयोर्क जान इलेनोरले लोरेनाको सहयोग मागिन् । 

रेलको लामो यात्राका क्रममा दुई जना महिलाको सम्बन्ध निकै प्रगाढ बन्यो । त्यसो त चुनावी प्रचारकै दौरान पनि आफूले तयार पारेको रिपोर्ट लोरेनाले इलेनोरलाई नदेखाई पोष्ट गर्दैनथिन् । सन् १९३३ को मार्च ४ मा रुजबेल्टले ३३ औं राष्ट्रपतिको शपथग्रहण गरे, त्यतिञ्जेलसम्म इलेनोर र लोरेनाको सम्बन्ध ‘आत्मीय’ बनिसकेको थियो । इलेनोर जहाँ जान्थिन् त्यहाँ लोरेनालाई पनि संगै लान्थिन् । २४ घण्टै साथसाथ बिताउन थालिसकेका थिए दुबै जनाले । लोरेना हरेक आइतबारको रात्री भोज रुजबेल्टसित खान्थिन् भने अरु बेला उनको समय इलेनोरसँगै कहिले ओपेरा त कहिले सिनेमा हलमा बित्थ्यो । खाना पनि सँगै खान्थे । मित्रता ‘आत्मीय’ बनेपछि नै इलेनोरले लोरेनालाई हिराको औंठी पनि उपहार दिइसकेकी थिइन् । बदलामा लोरेनाले प्रथम महिला इलेनोरको अन्तर्वार्ता प्रशारण गरिदिइन् । 

लोरेना शुरुदेखि नै समलिंगी थिइन् । किशोरावस्थामै पनि उनको सम्बन्ध युवतीसितै रहने गरेको थियो । चौबीसै घण्टा साथमै बिताउँदा बिताउँदै इलेनोरको झुकाव पनि त्यतैतिर गयो । यसबीच लोरेनाको सरुवा न्युयोर्कमा भयो । इलेनोर वांसिगटनमा बस्थिन् । दुई प्रेमी छुट्टिनुपर्दा दुबैलाई निकै गाह्रो भयो । र, दुबैले हरेक दिन मात्र होइन, फुर्सद मिल्नेबित्तिकै फोनमा कुराकानी गर्न र पत्र आदानप्रदान गरी शारीरिक आवश्यकता पूर्ति गर्न थाले । यहाँसम्म कि इलेनोरले आफ्नो अध्ययनकक्षमा लोरेनाको फोटो झुण्ड्याएकी थिइन् । उनी हरेक राति र हरेक बिहान त्यही फोटोलाई म्वाइ खाएर तुष्टि लिन्थिन् । इलेनोर लोरेनाको प्रेममा यतिबिघ्न पागल बनेकी थिइन् कि उनी प्रत्येक दिन लोरेनालाई १० देखि १५ वटा पत्र लेख्थिन् । कतिपय इतिहासकारले इलेनोर स्कूलमा पढ्दैदेखि समलिंगी हुन् भनेका छन् किनभने उनका शिक्षिका मेरी सौभेस्ट्रेलगायत धेरै साथी समलिंगी नै छन् । 

फेरि दुई जनाको बीचमा आदानप्रदान भएको भनिएको अधिकांश प्रेमपत्रमा दुबै जनाले ‘म्वाइ खाने, अँगालो हाल्ने, सँगै सुत्नेलगायत अन्य कामुक कुरो नै लेखेको पाइएको छ । स्मरणीय छ, छैटौं सन्तानको जन्मपश्चात् इलेनोरले ‘अबआइन्दा सँगै नसुत्ने’ आफ्नो निर्णय लोग्ने रुजबेल्टलाई सुनाएकी थिइन् । लोरेना र इलेनोरको सम्बन्ध त्यतिखेर टुट्यो, जतिबेला इलेनोर मानवअधिकारको विश्वव्यापी घोषणापत्र तयार गर्ने सिलसिलामा सन् १९४७ मा जेनेभा गइन् ।

जहाँ ६४ वर्षकी इलेनोर ४६ वर्षीय स्विस चिकित्सक डेभिड गुरेवित्स्चसितको प्रेममा पागल बन्न पुगिन् । उमेरमा इलेनोरभन्दा ९ वर्षले कान्छी लोरेनाको निधन ७५ वर्षको उमेरमा सन् १९६८ मा भयो । इलेनोरको मृत्यु सन् १९६२ मै भइसकेको थियो । फ्रान्कलिन रुजबेल्टको मृत्यु त राष्ट्रपतिको पदमा रहँदै सन् १९४५ मै भइसकेको थियो । 

टिप्पणीहरू