'को-प्यारेन्टिङ'को संस्कारमा आमिर र माल्भिका

'को-प्यारेन्टिङ'को संस्कारमा आमिर र माल्भिका
सुन्नुहोस्

पछिल्लो समय 'को-प्यारेन्टिङ' संस्कार विकास हुदै गएको छ । विकसित देशहरुमा पहिल्यैदेखि नै प्रचलनमा रहेको यो संस्कार पछिल्लो समय भारत र नेपालमा पनि अपनाउन थालिएको छ । 

बलिउड अभिनेता आमिर खान र उनकी पूर्वपत्नी किरण रावले पनि 'को-प्यारेन्टिङ' गरेर छोरो आजद रावलाई हुर्काइरहेका छन् । यो कुरा किरणले आफैं पुष्टी गरेकी हुन् । लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी उनले गत साता इन्स्टाग्राममा पूर्वपति आमिर र छोरो आजदसँगको  तस्वीर शेयर गर्दै 'लङ ट्रीप'को मजा लिएको उल्लेख गरेकी थिइन् । 

स्मरण होस्, आमिर र किरणले सन् २०२१ मा डिभोर्स गरेका थिए । तर पनि उनीहरु अहिले सँगै छोरोलाई हुर्काइरहेका छन् । यतिमात्रै होइन, उनीहरुले संगै चलचित्रमा पनि काम गरिरहेका छन् । 

यति भनिरहँदा नेपाली समाजले एउटा सामान्य प्रश्न उठाउन सक्छ, श्रीमान र श्रीमतिबीच डिभोर्स भइसकेपछि पनि उनीहरु सँगै रहन सक्छन् ? यो प्रश्नको उत्तर आमिर र किरणको सम्बन्धले स्पष्ट पारेको छ । उनीहरुबीच औपचारिक रुपमा सम्बन्ध सकिए पनि छोरोको कारण अनौपचारिक सम्बन्धबाट भने टाढा छैनन् ।

छोरोलाई आमा र बाबुको अभाव महशुस नहोस् भनेर उनीहरु अहिले अनौपचारिक सम्बन्धमै छन् । समय-समयमा भेट भएर छोरोसँगै केही क्षण बिताउने गरेका अमिर र किरणले धेरी पटक सँगै डिनर गरिसकेका छन् । यहाँसम्म कि डिभोर्सपछि पनि यी दुई मिलेर 'लापत्ता लेडिज' नामक एक चलचित्रसमेत बनाएका छन् । जसको ट्रेलर जनवरी २४ मा रिलिज हुँदैछ । चलचित्रमा आमिरले लगानी गरेका छन् भने किरण निर्देशक हुन् ।

त्यस्तै, नेपालमा पनि 'को-प्यारेन्टिङ' संस्कार विकास भएको पाइन्छ । पूर्व मिस नेपाल मल्भिका सुब्बा र उनका पति रियाज श्रेष्ठ यसको एक उदाहरण हुन् । करिब पाँच महिनाअघि अभिनेत्री प्रियंका कार्कीसँगको एक अन्तर्वातामा माल्भिकाले आफ्नो सम्बन्ध बिग्रनुको कारण र अहिले बाँचिरहेको जीवनबारे खुलेरै बोलेकी थिइन् । 

उनले भनेकी थिइन्, ‘श्रीमानको घर नजिकै डेरा लिएर बसेकी थिएँ । छोरालाई बुवा र उनको परिवार भेट्न सहजै होस् भनेर नजिकै बसेको हो । स्कुलबाट घर ल्याउँदा उसको घर भएर गुज्रिनुपर्थ्यो । त्यतिबेला सधैं घर जाने भनेर रुन्थ्यो । कहिलेकाहीं मैले गल्ती त गरिनँ भने जस्तो पनि लाग्थ्यो । राति सुत्दा सोच्थें, मेरो लाइफ कस्तो हुनुपर्ने, कस्तो भयो । तर, फेरि आफूलाई बलियो बनाउँथें ।' 

माल्भिकाको यो बयानबाट स्पष्ट हुन्छ कि उनी श्रीमान रियाजसगँ निकै असन्तुष्ट थिइन् । त्यसका बाबजुद पनि अहिले उनीहरु मिलेरै छोरा हुर्काइरहेका छन् । 'हामीबीच जे जस्तो भए पनि हामीमै सीमित हुनुपर्छ । अहिले छोरोलाई नकारात्मक प्रभाव नपरोस् भनेर हामी बेला-बेला भेट्छौ । सँगै डिनर गर्छौ । सँगै सिनेमा पनि हेर्न जान्छौ । छोरोको लागि भए पनि हामी अहिले अनौपचारिक सम्बन्धमा छौ', उनले थप्दै भनिन् ।

 

टिप्पणीहरू