भारतीय सेलिब्रेटीहरुको अयोध्यामा लर्को

भारतीय सेलिब्रेटीहरुको अयोध्यामा लर्को
सुन्नुहोस्

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण गरिएको राममन्दिरमा रामको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । प्राणप्रतिष्ठा कार्यक्रमका मुख्य अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थिए । 

भारतीय समयअनुसार मध्यान्ह साढे १२ बजेको शुभसाइतमा प्रधानमन्त्री मोदीले प्राणप्रतिष्ठाको मुख्य पूजा थालेका थिए । त्यसबेला भारतीय वायुसेनाको हेलीकोप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो ।

कार्यक्रममा मुलुकका चर्चित राजनीतिज्ञ, व्यवसायी र कलाकारहरुको उपस्थिति रहेको बताइन्छ । बलिउड कलाकारहरुले राम मन्दिरमा खिचाएको तस्बिर, भजन गाएको भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

कार्यक्रममा वरिष्ठ अभिनेता अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, अनुपम खेर, विवेक ओवरायले पूजा गरेको तस्बिर सेयर गरिएको छ ।

त्यस्तै, रणवीर कपूर, आलिया भट्ट, विक्की कौशल, कटरीना कैफ, जैकी श्राफ, आयुषमान खुरानाले खिचाएको सामूहिक तस्बिरले पनि यतिबेला भारतीय सञ्चारमाध्यममा व्यापकता छाएको छ । 

निर्देशक राजकुमार हिरानी र रोहीत शेट्टी पनि विमानमा अयोध्या पुगेका थिए । अभिनेत्री कंगना रनौतले आफू राम मन्दिरको प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन पाउँदा सौभाग्य महशुस गरेको बताएकी छन् । 

दक्षिण भारतीय चलचित्र सुपस्टार रजनीकान्तको तस्बिर पनि यतिबेला चर्चामा छ । उनले राम मन्दिरमा पूजा गरेका छन् । त्यस्तै, चिरञ्जीवी र रामचरण पनि एकैसाथ देखिएका छन् । अभिनेता धनुषले मन्दिरमा फूल चढाएको तस्बिर सेयर गरेका छन् । अभिनेता पवन कल्याण श्रीमतीसहित अयोध्या पुगेका थिए । गायक सोनु निगमले कार्यक्रममा भजन गाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

क्रिकेटर सचिन तेन्दुलकरले आजको कार्यक्रम भारतको इतिहासमा अविस्मरणीय भन्दै फोटो सेयर गरेका छन् । यस्तै योगगुरु रामदेव र धिरेन्द्र शास्त्रीले पनि मन्दिरमा पूजा गरेका छन् ।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए । मन्दिर पूर्ण रूपमा बनिनसकेकाले प्राणप्रतिष्ठा गर्न नहुने एकथरी महन्थहरूले बताएका छन् । जबकी मन्दिर पूर्णरुपमा बनिसक्न अझै एक वर्ष लाग्ने अनुमान छ ।

टिप्पणीहरू