राम मन्दिरको प्राण-प्रतिष्ठालाई स्कीम बनाएर 'हनुमान' रिलिज, टाट पल्टिने अवस्थामा नेपाली वितरक

राम मन्दिरको प्राण-प्रतिष्ठालाई स्कीम बनाएर 'हनुमान' रिलिज, टाट पल्टिने अवस्थामा नेपाली वितरक
सुन्नुहोस्

हलमा चलिरहेको दक्षिण भारतीय चलचित्र 'हनुमान'को निर्माण टिमले अयोध्यामा बनेको राम मन्दिरका लागि साढे दुई करोड चन्दा दिएको छ । 

चलचित्र रिलिज हुनुअघि नै निर्माताहरूले अयोध्यामा बनेको राम मन्दिरको लागि बिक्री हुने प्रत्येक टिकटमा ५ रुपैयाँ छुट्याउने वाचा गरेका थिए । सोही बमोजिम निमार्ण टिमले २ करोड ६६ लाख भारु चन्दा दिएका हुन् । 

फिल्म चलाउन गरेको चलाखी

चलचित्रको निर्माण टिमले पहिले यस चलचित्रलाई फेब्रुअरीमा रिलिज गर्ने तयारी गरेको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण-प्रतिष्ठा जनवरी २२ मै गर्ने मिति पक्का गरेपछि चलचित्र बिकाउन जनवरीमै रिलिज गरियो । 

निमार्ण पक्षले चलचित्र चलाउन यस्तो 'स्कीम'सम्म ल्यायो कि प्रत्येक टिकटबाट पाँच रुपैयाँ राम मन्दिरको नाममा छुट्याउने घोषणा नै गरिदिए । निर्माण टिमको यो 'स्कीम'ले केही हदसम्म काम पनि गर्यो । राम मन्दिरको प्राण-प्रतिष्ठासँग जुधाएर रिलिज गरेपछि अहिले चलचित्रले १५० करोड कलेक्शन गरिसकेको छ । 

तर, यदि यो चलचित्र पहिल्यै निर्धारण गरिएको फ्रेबुअरीमा रिलिज गरेको भए चाँही चलचित्र नराम्ररी फ्लप हुने सम्भावना रहेको भारतीय समिक्षकहरुले बताइरहेका छन् । किनकि, दर्शक तथा समालोचकहरुले चलचित्रप्रति खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । 

हिन्दुहरुको आस्थामा मानिने राम मन्दिरको प्राण-प्रतिष्ठासँग जुधाएर चलचित्र रिलिज गर्नु नै निर्माण टिमको सबैभन्दा 'सेभेज आइडिया' थियो । 

डुबे नेपाली वितरक पनि

नेपाली हलहरुमा विदेशी चलचित्रको दबदबा रहने पुरानै परम्परा हो । यहीबीच 'हनुमान' जनवरी १२ मा रिलिज हुँदा सुरुमा नेपाली वितरकहरु तत्काल यो चलचित्रलाई नेपालमा ल्याउन तयार थिएनन् । किनकि, यसअघिका दुई चलचित्र 'सलार' र 'डंकी'बाट वितरकले लागानीको तेब्बर बढी रकम उठाइरहेका थिए । 
तर, अचानक 'हनुमान'ले भारतमा एक साताभित्रै १५० करोड कलेक्शन गरेको समाचार बाहिरिएपछि नेपाली वितरक पनि हौसिन थाले । त्यसपछि रिलिजको एक हप्तापछि गएको शुक्रबारदेखि मनोज राठी र उनको टिमले नेपालका हलहरुमा पनि प्रदर्शन शुरु गरे । 

तर, विडम्बना ! नेपाली दर्शकहरुले 'हनुमान'लाई खासै चासो दिएनन् । वितरकले अपेक्षा गरेजस्तो दर्शकहरु हलसम्म पुग्ने छाँटकाँट देखिएन् । 

निर्माण टिमसँग करोडौँ रकम तिरेर नेपालमा प्रदर्शन अधिकार लिएका राठी र उनको टिम यतिबेला टाट पल्टिने अवस्थामा पुगेको छ । राठीको समूहले पनि भारतमा चलाइएको 'स्कीम' झै प्रत्येक टिकटबाट पाँच रुपैयाँ अयोध्याको राम मन्दिरका लागि छुट्याइने घोषणा गरेको थियो । तर, नेपालमा भने यसले  काम गरेन । 

नेपालमा हुनमान रिलिज भएको आज ४ दिन भइसक्यो, तर अहिलेसम्म हलमा दर्शकहरुको उपस्थिति शून्यजस्तै छ । करोडौँ रकम तिरेर प्रर्दशन अधिकार लिएका राठी र उनको टिमले भारतीय बजारको वास्तविकता नबुझ्दा यसरी टाँट पल्टिने अवस्थामा आएको हो । 

त्यसो त, चलचित्रको पाइरेट बाहिरिएका कारण पनि दर्शकहरुलाई हलसम्म पुग्नैपर्ने बाध्यता छैन । थुप्रै अवैधानिक साइटमा पुगेर नेपाली दर्शकले एचडी क्वालिटीमा यो चलचित्र हेरिसकेका छन् । ओटीटीमा रिलिज नभए पनि पाइरेट भिडियोका कारण दर्शकको मोबाइलसम्म पुगिसकेको छ । 

पिआर मुभिज डट ट्रेड, द मुभिज् मुड डट ओआरजी, रिकजोन डटकम, मल्टी मुभिज डट सप, एम भेगा मुभिज लगायतका साइटहरुमा समेत यो चलचित्र अवैधानिक रुपमा उपलब्ध छ । 

प्रशान्त वर्माद्वारा निर्देशित यो चलचित्रमा तेजा सज्जासँगै अमृता अय्यर, वरलक्ष्मी शरतकुमार, विनय राई र राज दीपक शेट्टी मुख्य भूमिकामा छन् । चलचित्रमा हनुमानलाई मुख्य पात्र बनाएर हिन्दु धर्मसँग सम्बन्धित कथा प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू